काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न पनि हरेक वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्न सिंगो पार्टी पंक्तिलाई निर्देशन दिए।
अझै पनि पार्टीको काम पालिका तहसम्म मात्रै क्रियाशील रहेको उल्लेख गर्दै उनले त्यसले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न नसक्ने जनाए।
उनले पार्टीको नीतिअनुसार जनमत तयार गर्नसक्दा मुलुकमा राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो समस्या अझै पनि रहेकाले त्यसलाई अन्त्य गर्ने गरी पार्टी कामलाई तल्लो तहसम्म पुर्याउन आवश्यक रहेको पनि जनाए ।
उनले वडालाई पार्टी कामको केन्द्र बिन्दु बनाउने कुराले मात्रै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्न सकिने बताए। उनले एमालेको नीतिलाई राष्ट्रिय नीतिको रुपमा अघि बढाउने सामर्थ्य विकास हुने गरी पार्टी काममा लाग्नुपर्ने समेत जनाए।


