काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।
पाँडेको बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुरु भएको छ।
बयानपछि थुनछेक बहस हुने र त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने वा साधारण तारेख वा धरौटीमा छाड्ने निर्णय हुने छ। सम्भवत आजै थुनछेक बहस सकिने अनुमान गरिएको छ।
पाँडेलाई बुधबार साँझ प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले पक्राउ गरेको थियो। उनलाई बेलायत बस्ने एक महिलालाई इमेल र ह्वाट्सएपमार्फत अपशब्द बोल्दै गाली गरेको आरोपमा पक्राउ गरिएको हो। ती महिलाले नेपाल आएपछि प्रहरीमा उजुरी दिएकी थिइन्।
प्रारम्भिक अनुसन्धान अनुसार, पाँडे र ती महिला पहिल्यैदेखि चिनजानमा थिए र व्यक्तिगत सम्बन्ध बिग्रिएपछि यस्तो विवाद उत्पन्न भएको बताइएको छ।
बिहीबार मात्रै अदालतले चार दिनको म्याद दिँदै पाँडेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तर, एमाले नेता ऐन महरालाई समान प्रकृतिको मुद्दामा हाजिरी जमानीमा छोडिएको तर पाँडेलाई हिरासतमा राखिएको भन्दै आलोचना भएको थियो।
यसले विवाद उत्पन्न गराएपछि फास्ट ट्रयाक प्रक्रियामार्फत पाँडेविरुद्ध मुद्दा दर्ता गरिएको स्रोतले जानकारी दिएको छ।


