काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणभन्दा अगाडि सदनबाट राष्ट्रियताको सन्दर्भमा साझा अवधारणा बनाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पराजुलीले सन् १८१६ को सुगौली सन्धिबाट नै नेपालको पश्चिमी सीमा काली नदी ठहरिएको ऐतिहासिक तथ्य कुनै विवादको विषय बन्न नसक्ने जनाए ।
उनले भूगोल र हाइड्रोलोजिकल प्रमाणका तथ्य केलाउँदा नदी नालाका प्रवाह, भू–आकृति संरचना, स्थानीय बस्ती र प्राकृतिक भूगोलको प्रमाणहरू अनि सन् १९६१ को जनगणना, त्यतिबेलाका प्रशासनिक अभिलेख तथा सन् १९५९ को आम निर्वाचनको मतदाता नामावली लिम्पियाधुरा नेपालको आफ्नो भूभाग हो भनेर प्रमाणित गर्न पर्याप्त रहेको जनाए ।
नेपालको भूभाग माथि अन्य राष्ट्रहरूले नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना गर्ने कुनै सम्झौता वा गतिविधि वैधानिक नहुने र हुन नसक्ने उनले बताए । भारत र चीनबिच नेपाललाई सहभागी नगराई लिपुलेक मार्ग प्रयोग गर्न गरिएको समझदारी अन्तर्राष्ट्रिय कानुनको दृष्टिले अवैध भएको पराजुलीले जनाए ।
विगत एक हप्तादेखि माइतीघर मण्डलामा आन्दोलनमा रहेका उखु किसानसँग सरकारले यथाशीघ्र वार्ता गरेर फेरि कहिल्यै आन्दोलन गर्नुपर्ने नगरी सम्बोधन गर्नको लागि आग्रह गरे ।