काठमाडौं । काठमाडौं टोखा नगरपालिकाका प्रमुख तथा एमाले नेता प्रकाश अधिकारीलाई सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतले सफाइ पाएकाे छ।
अधिकारीमाथि नाङ्लो दीप सेभिङ एन्ड को–अपरेटिभ प्रालिमार्फत निक्षेपकर्ताको एक करोड ८३ लाख ठगी गरेको आरोप थियो। उनी सो सहकारीका सञ्चालक तथा उपाध्यक्ष रहेका बेला २०२ निक्षेपकर्ताको रकम हिनामिना गरेको अभियोगमा २०७१ सालमै प्रहरीमा उजुरी दर्ता भएको थियो। प्रहरी अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।
२०७३ चैतमा जिल्ला अदालतले अधिकारीलाई सफाइ दिएको थियो। तर, पाटन उच्च अदालतले त्यसलाई उल्ट्याउँदै २०७५ फागुन १९ गते अधिकारीलाई एक महिना कैद र १८ लाख ३१ हजार जरिवानाको फैसला सुनाएको थियो। सोही मुद्दामा अन्य प्रतिवादीहरू धनमाया श्रेष्ठ, मिलन कार्की, सीतामाया थापा, यनुका बुढाथोकी, दीपक वाग्ले, प्रतिमा सिटौला, झुनु शाह र देउमाया लिम्बूलाई समेत जनही एक महिना कैद र जरिवानाको सजाय तोकिएको थियो।
उच्च अदालतको फैसलाविरुद्ध २०७६ सालमा अधिकारीसहित अन्य केही प्रतिवादीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। सोही क्रममा पीडित अप्सरा पौडेलको जाहेरीका आधारमा नेपाल सरकारले समेत पुनरावेदन गरेको थियो।
सर्वोच्च अदालतको न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले सर्वोच्च प्रशासनको प्राथमिकतामा राखी सुनुवाइ गरेपछि अन्ततः अधिकारी र यनुका बुढाथोकीलाई सफाइ दिएको हो। बाँकी प्रतिवादीहरूको हकमा भने तल्लो अदालतकै फैसला सदर भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी गराए।
यो मुद्दा पाँच वर्षभन्दा पुरानो भएकाले शीघ्र फस्र्योटका लागि सर्वोच्चले अभियान फाँटमार्फत सुनुवाइ अघि बढाएको थियो। लगाउमा रहेका ८ वटा मुद्दालाई एकैपटक राखी फैसला दिइएको हो।


