बैतडी । लगातार वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले जानकारी दिँदै मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरेको हो ।
बैतडीका धेरै भूभाग पहिरोको उच्च जोखिममा छन् । सानो असावधानीले क्षति निम्त्याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । प्रशासनले स्थानीय तहहरूसँग समन्वय गर्दै विपद् व्यवस्थापन समिति सक्रिय बनाएको जनाएको छ । साथै, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाईसमेत तयारी अवस्थामा राखिएको बताइएको छ ।
आम नागरिकलाई अनावश्यक यात्रा नगर्न, घर छाड्दा परिवारलाई जानकारी गराउन, मोबाइल तथा सञ्चारका साधन चार्ज गरेर राख्न, आवश्यक कागजात सुरक्षित राख्न तथा आकस्मिक उद्धारका लागि तयार रहनसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।


