काठमाडौं । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पदबाट राजीनामा दिएका छन्। उनले मुख्यमन्त्री बहादुरसिंह लामालाई आज राजीनामा बुझाएका हुन्।
यसअघि गत शुक्रबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका थिए।
सोही दिन मुख्यमन्त्री लामाले उनीहरूलाई पदबाट हटाएका थिए। मुख्यमन्त्री लामाले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन्।
लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। उक्त प्रस्तावमा आज मत विभाजन भएको छ।
कांग्रेस संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै पर्यो। उनको विपक्षमा २२ मत परेको छ। बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन्।


