काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले देशमा सवारी दुर्घटनाको स्थिति भयावह रहेको जनाएका छन्।
शुक्रबारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सवारी दुर्घटनामा एक दिनमा ७ देखि १० जनाको मृत्यु हुने गरेको बताए। दुर्घटना मधेस प्रदेशमा बढी रहेको उनले जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ।
‘सवारी दुर्घटनाको स्थिति भयावह नै छ। झन्डै एक दिनमा सातदेखि १० जनाको मृत्यु हुन्छ। सबैभन्दा बढी मधेस प्रदेशमा नै छ। २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ, गत वर्षमा। पहिलाको भन्दा बढेको अवस्था छ। २५.१५ प्रतिशतले बढेको छ,’ उनले भने।


