काठमाडौं । यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड नेपालका दुई प्रख्यात व्यक्तित्व, ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ।
यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ।
ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ। यस वर्ष विशेषगरी ज्ञानेन्द्र शाही र कुलमान घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको हो।
ज्ञानेन्द्र शाही युवा नेता र सामाजिक अभियन्ताका रूपमा परिचित छन् ।
त्यसैगरी, कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हुनुहुन्छ, जसलाई लोडसेडिङ अन्त्यको श्रेय दिइन्छ। उनको कुशल नेतृत्व, दृढ इच्छाशक्ति र व्यवस्थापकीय क्षमताका कारण नेपालले दशकौँ लामो लोडसेडिङको अन्धकारबाट मुक्ति पाएको थियो।
घिसिङको यो योगदानले नेपाली जनताको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ र उहाँ ‘अँध्यारोबाट उज्यालो’ ल्याउने नायकका रूपमा लोकप्रिय छन् ।
न्यूयोर्कमा आयोजना हुने यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।


