नारायण प्रसाद दाहाल
नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने मनसुवा देखाएका छैनन् । बरु ओली निकै अप्रिय हदसम्म पनि टिप्पणी गर्न पछि परेका छैनन् । कतिसम्म भने उनले आफ्नो जीवनकालभरिमा एमालेको नेतृत्व लिने सपना कसैले नदेख्न चुनौती समेत दिएका छन् । एमालेबिनाको देश र केपी ओलीबिनाको एमालेको परिकल्पना असम्भव हुने उनको ठोकुवा छ ।
तर उनलाई चुनौती दिन कुनै समय उनकै विश्वासपात्र रहेकी विद्यादेवी भण्डारी अघि सरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले सदस्यता पार्टीको नवीकरण गरेर सक्रिय राजनीतिमा होमिएको घोषणा नै गरिसकेकी छन् । यति मात्र होइन अबको महाधिवेशनबाटै अध्यक्षको उम्मेदवार बन्ने उनको उद्घोष छ ।
उनलाई ओलीले स्वागत नगरेपछि एमालेभित्रको कुनै मञ्च पाउने सम्भावना तत्काल देखिँदैन । तर विद्याले आफ्नो राजनीतिक सक्रियताको मञ्च मदन भण्डारी फाउन्डेसनलाई बनाएकी छन् । भण्डारीले मंगलबार मात्र नेकपा एमालेको संगठन र जनताको बहुदलीय जनवाद (जबज) को विस्तार गर्न भन्दै आफ्नै संरक्षकत्वमा बेग्लै संयन्त्रको अभ्यास सुरू गरेकी छन् । छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनको ब्यानरमा मंगलबार काठमाडौँमा मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन भन्दै घोषणा गरिएको मूल व्यवस्थापन समितिको संयोजक डोरमणि पौडेल छन्।
पार्टीमा उनी पूर्वराष्ट्रपति भण्डारीकै विश्वासपात्र मानिन्छन्। यसअघि उनी बागमती प्रदेशको मुख्यमन्त्री भएका थिए।पार्टी महाधिवेशनको तयारीमा जुटेको र पूर्वराष्ट्रपति भण्डारीले नेतृत्व लिने चाहना प्रकट गरिरहेको पृष्ठभूमिमा बेग्लै संयन्त्र घोषणा गरी त्यसमार्फत देशव्यापी अभियान सञ्चालनको योजना सार्वजनिक भएको हो ।
समिति घोषणा गर्ने कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष उषाकिरणले जबजको सान्दर्भिकता र महत्त्व मुलुकमा झन्झन् बढिरहेको भन्दै एमालेको संगठनमा लोकतन्त्रीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
‘जबजको आलोकमा सम्पादित कार्यहरूले जनताको मन जितेका छन् र यस सिद्धान्तको कार्यान्वयन गरिरहेको पार्टी नेकपा एमाले विस्तारित र लोकप्रिय बनिरहेको छ ,’ उषाकिरणले कार्यक्रममा भनिन्, ‘तर सिद्धान्तले अवलम्बन गरेको लक्ष्यको सापेक्षतामा संगठन सुदृढीकरण अभियान सशक्त बन्न सकेको छैन। विस्तार र सबलताको लागि जननेता (मदन) को योगदानको उजागर र जबजको प्रचार अति आवश्यक छ। यसैगरी जबजको महत्त्वपूर्ण आयामको रूपमा रहेको पार्टी जीवनको लोकतन्त्रीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने विषयलाई आत्मसात् गर्नुपर्दछ। यसबाट जननेताको बहुआयामिक व्यक्तित्व नयाँ पुस्तामा उजागर भई उहाँको योगदानबाट प्रभावित भएर त्यो पुस्ता राजनीतितर्फ आकर्षित हुनेछ।’
मदनको हीरक जन्मजयन्तीका अवसरमा गर्न लागिएको कार्यक्रम एमालेको संगठन लक्षित रहेको उषाकिरणले प्रस्टै बताइन् । अभियानको सान्दर्भिकता र औचित्य प्रस्ट्याउँदै उनले अगाडि थपिन्, ‘जनताको बहुदलीय जनवादको कार्यान्वयन गरी आमूल सामाजिक परिवर्तनको अभियानमा लागेको नेकपा एमालेप्रति जनताको आकर्षण बढ्नेछ। जननेताको ७५ औँ जन्मजयन्ती मनाउने सन्दर्भमा संगठन र जबज विस्तारको महत्त्वपूर्ण माध्यम बन्नेछ। यसलाई साकार पार्न नयाँ पुस्ता, युवा समुदाय, श्रमिक, किसान, महिला, उत्पीडित समुदाय, बुद्धिजीवी लगायत सम्बद्ध सबै पक्ष क्रियाशील हुनसमेत आह्वान गर्दछौं।’
यसै पृष्ठभूमिमा मदनको ७५ औँ जन्मजयन्ती मनाउने निर्णयमा पुगेको र यस कार्यलाई फलदायी, व्यापक र व्यवस्थित बनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति बनाउने निर्णय गरेको उनले जानकारी दिइन्।
यस अभियानअन्तर्गत विचार गोष्ठी, छलफल तथा अन्तर्क्रिया, कविता, वादविवाद, हाजिरी जवाफ र खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीजस्ता रचनात्मक क्रियाकलाप २०८२ र २०८३ सालभरि गरिने उषाकिरणको भनाइ छ । २०८४ मा अभियानको समीक्षासहित समापन गरिने उनले जानकारी दिइन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेको जननेता मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिमा हाल ४ सदस्यीय सल्लाहकार समिति बनाइएको छ, जसमा पूर्वमन्त्री तथा चीनका लागि पूर्वराजदूत महेन्द्रबहादुर पाण्डे, कोसी प्रदेशका प्रमुख सोमनाथ अधिकारी प्यासी, पूर्वमन्त्री युवराज कार्की र एमालेकै पाका नेता वाचस्पति देवकोटा छन् । सल्लाहकार थप्दै लैजाने पनि कार्यक्रममा बताइएको थियो।
डोरमणि पौडेल संयोजक रहेको मूल व्यवस्थापन समितिमा सहसंयोजकहरू सुशील प्याकुरेल, प्राडा गणेशमान गुरुङ र सचिव डा भेषराज अधिकारी छन् । प्याकुरेल पूर्वराष्ट्रपति भण्डारी शीतलनिवासमा हुँदा सल्लाहकारको भूमिका थिए भने अधिकारी स्वकीय सचिव । गुरुङ गण्डकी विश्वविद्यालयका निवर्तमान कुलपति हुन् ।
भण्डारी राष्ट्रपति छँदा शीतलनिवासमै सल्लाहकार तथा सचिवालयमा रहेका लालबाबु यादव, लक्ष्मी कार्की लगायत पनि समितिमा छन् । समितिमा पूर्वराजदूतहरू नारद भारद्वाज, उदयराज पाण्डे, डा अर्जुन कार्कीसमेत छन्। नेपाल सरकारका पूर्वसचिव (कानुन) उदय नेपाली श्रेष्ठ पनि यस समितिमा रहेका छन् । थप सदस्यहरू सानुकुमार श्रेष्ठ, गोपाल गुरागाईं, विनोद ढकाल, पर्वत भण्डारी, खेम नेपाली, राम दंगाल, सिद्धराज राई, सुबोधराज प्याकुरेल, जयकुमार राई, राज मोहम्मद राय लगायत छन्। यस्तै मणिशंकर निधि, नवराज शर्मा, नरेन्द्रराज पोखरेल, नवराज सिलवाल, कृष्ण दाहाल, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, प्रकाश गौतम र नारायण खतिवडा पनि सदस्य छन् ।
जगन्नाथ नेपाल, शुभराज पोखरेल, इन्द्रबहादुर तामाङ, श्याम बस्नेत, वचनबहादुर सिंह, गोविन्द कलौनी, महेश्वर पाठक, नरेश रोकाया, टेकेन्द्र बस्नेत र टपेन्द्रबहादुर शाही पनि समितिमा छन्। विकास लम्साल, राजेश राई, डा निर्मल विक, डा कृष्ण अधिकारी, डा दीपेन्द्र श्रेष्ठ, प्राडा उपेन्द्र कोइराला, सोमकुमार राई, राजकुमार राई, खिम पन्थी र कमला ओली पनि मूल व्यवस्थापन समितिमा छन् । गोपाल थापा, विनोद खड्का, खड्गबहादुर खत्री, इन्द्रमान स्याङ्तान, नारायण बन, रघुनाथ खुलाल, रामचन्द्र राई, मीरा आचार्य, डिलाराम घिमिरे, भगवती गौतम, हीरा थापा, जितेन्द्र श्रेष्ठ, भूमिका सुब्बा, केशव पोखरेल, प्रेमनाथ अधिकारी र रामेश्वर श्रेष्ठले पनि सदस्यको जिम्मेवारी पाएका छन् ।
आरसी न्यौपाने, सुमन पुरी, प्रकाश पौडेल, शान्ति पाख्रिन, मोती विक र माधव शर्मा पनि सदस्यकै सूचीमा छन् । यी सबै कुनै न कुनै रुपमा एमाले राजनीतिसँग जोडिएका व्यक्ति हुन् । मंगलबार नै भण्डारीले व्यक्तिगत वेबसाइट सार्वजनिक गरेकी छन् । भण्डारीको प्रोफाइल, प्रमुख सम्बोधनहरु, तस्बिर संग्रह लगायतका विषय समेटिएको वेबसाइट विद्या भण्डारी डट कम डट एनपी सार्वजनिक गरिएको हो ।
यो वेबसाइट पूर्व राष्ट्रपति भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र होइन, लोकतान्त्रिक मूल्यहरू, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धनमा गरेको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्यले निर्माण गरिएको बताइएको छ ।
यसले भण्डारीको आगमनलाई झनै आक्रामक बनाएको छ । अब यसका ठोस असर साउन २ गते बस्ने पोलिट्ब्युरो बैठक र ५ गते बस्ने केन्द्रीय समिति बैठकमा देखिनेछन् । उक्त बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजका मसौदा पेस गरी छलफल आरम्भ गरिनेछ । वर्णन मिडिया


