हेटौंडा । बागमती प्रदेश सरकारको बजेट पूर्वनिर्धारित समयमा प्रस्तुत नहुने भएको छ ।
बजेटमाथि सरकारभित्र विवाद उत्पन्न भएपछि बजेट प्रस्तुतका लागि ३ बजेलाई बोलाइएको प्रदेशसभा बैठक करिब ७ बजेलाई राख्ने तयारी भइरहेको हो । प्रदेशसभा सचिवालयका प्रवक्ता कानुन अधिकृत मनोजकुमार गुप्ताले साढे ६ बजेपछि मात्रै बैठक बस्ने जानकारी गराए । सचिवालयले बैठक स्थानान्तरण भएको सम्बन्धी सूचना निकाल्न लागेको गुप्ताले जनाए ।
सत्ता साझेदार दल नेकपा एमालेसँगको सहमति भन्दा बढीको बजेट ल्याउने तयारी भएपछि सरकारमा तनाव भएको थियो । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच बजेट ६८ अर्ब भन्दा बढी बढाउन नपाइने समझदारी भएकोमा मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ७२ अर्ब पुर्याएको आरोप लगाइएको छ ।


