बझाङ, (बुंगल) । अपांगता तथा अशक्तता भएका व्यक्तिहरूले स्थानीय र प्रदेश सरकारबाट कुनै पनि सेवा तथा सुविधा नपाएको गुनासो गरेका छन्।
नेपाल सरकारले अपांगता परिचयपत्र प्राप्त लाभग्राहीहरूलाई चौमासिक रूपमा १२ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ। तर, अपांग नागरिकहरू भन्छन् — यो भत्ताले उनीहरूको जीवन धान्न अपुग भएको छ। उनीहरूका अनुसार, राज्यले चौमासिकरूपमा उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ताले मात्र दैनिक जीवन सञ्चालन गर्न असहज भएको छ।
बझाङ जिल्लाको बुंगल नगरपालिका–११ का दृष्टिविहीन राम बोहराले राज्यबाट प्राप्त १२ हजार रुपैयाँको भत्ताले घर खर्च धान्न कठिन भएको बताए। “यो भत्ताले खानपिन मात्र होइन, औषधि उपचार समेत सम्भव छैन,” उनले भने। यस्तै, अर्का स्थानीय अपांग कृष्ण बोहराले स्थानीय सरकार र प्रदेश सरकारका जिम्मेवार निकायसँग पटकपटक समस्या राख्दा पनि कुनै सुनुवाइ नभएको बताए। “हाम्रो आवाजलाई कसैले चासो दिएको छैन,” उनले भने। बुंगल नगरपालिकामा अपांग, अशक्त र अशायहरूको संख्या उल्लेखनीय भए पनि उनीहरूले भत्ताबाहेक अन्य कुनै सुविधा नपाएको गुनासो गरेका छन्। केही वर्षअघि नगरपालिकाको सहयोगमा अपांग कोष स्थापना गरिएको थियो।
वडागत रूपमा चन्दा संकलन गरेर कोष सञ्चालनमा ल्याइएको भए पनि हाल त्यो कोष प्रयोगबिहीन अवस्थामा पुगेको छ। बुंगल नगरपालिका–६ का अपांग गोपाल देवारका अनुसार, “कोष सुरुमा सक्रिय थियो तर अहिले नगरपालिकाको बेवास्ताले यो अलपत्र अवस्थामा पुगेको छ। समस्या राख्दा जनप्रतिनिधिहरूले चासो देखाएका छैनन्।”
यस समस्यालाई स्थानीय स्तरमै सीमित मान्न नहुने अपांग नागरिकहरूको भनाइ छ।उनीहरूका अनुसार, यो समस्या देशभर को हो । र सबै तहका सरकारहरूले गम्भीर रूपमा ध्यान दिनुपर्ने बताएका छन् । तर बुंगल नगरपालिकाले यो विषयमा अपांग तथा अशक्त व्यक्तिहरु लाई केही सहयोग गर्छौ भनेर आसपासन दिएको भए पनि कार्यान्वयनमा ल्याउन नसकेको नगरपालिकाले बताउनुभयो ।