काठमाडौं । शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा स्थापित ‘सेन स्मृती पत्रकारिता पुरस्कार २०८२’ पत्रकार एवम लेखक नरेन्द्रजंग पिटरलाई दिइने भएको छ ।
शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उक्त घोषणा गरिएको हो । पिटर बामपन्थी पत्रकारसँगै लेखक र बिश्लेषक पनि हुन् ।
उनले १० वर्षे जनयुद्ध कालमा नेपालका विकट, तथा दुर्गम क्षेत्रमा पुगेर नागरिकका विचमा माओवादी बिचार र आन्दोलनलाई बिचारमार्फत महत्वपुर्ण योगदान पुर्याएका थिए । उक्त पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ ।
यस्तै ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार २०८२’ पत्रकार रुवी श्रेष्ठलाई दिइने भएको छ । प्रेस सेन्टर नेपालका निवर्तमान उपाध्यक्ष समेत रहेकी श्रेष्ठ रेडियो नेपालमा लामो समयदेखि कार्यरत छन् । उनीसँग जनयुद्धको बेलामा युद्ध रेडियो पत्रकारका रुपमा काम गरेको अनुभव छ । यस पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।
यस्तै दिवंगत पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापित ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार २०८२’ पत्रकार मणी विश्वकर्मालाई दिइने भएको छ । सिराहमा नयाँ पत्रीकाका सम्बाददाता रहेका विश्वकर्मा लामो समयदेखि पत्रकारितामा सत्रिय छन् । उनी प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय सदस्य समेत हुन् । यस पुरस्कारको राशी पनि २५ हजार रुपैयाँ रहेको छ ।
आगामी माघ १५ गतेका दिन प्रेस सेन्टर नेपाल स्थापना दिवसको अवसरमा उक्त पुरस्कार दिइने संगठनका अध्यक्ष कमल गिरीले जानकारी दिए । उनका अनुसार सेन्टर हरेक वर्ष स्मृति दिवसका अवसरमा उक्त पुरस्कार घोषणा गरेर स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको छ ।