खडग पाण्डे
हुन त यो लेखको शीर्षक “कुर्चीमा नेताहरूको अर्जुन दृष्टि“ हुनुपर्ने हो। तर प्रधानमन्त्रीज्यूले आफ्नो कुर्ची किस्तिमा राखेर “दिने” घोषणा गर्नुभएकाले शीर्षक नै उल्टो पार्नुपर्यो। रोचक त के छ भने — त्यो कुर्चीलाई लतारेर, घिसारेर, तानेर वा धकेलेर होइन, श्रद्धापूर्वक किस्तिमा राखेर दिने रे! अर्थात् कुर्ची सुम्पिने पनि अब कुनै अनुष्ठानजस्तो गरिने भयो, जसमा नाटक पनि छ, निर्देशन पनि।
हप्तौँदेखि छिप्पिएको, अमिलो भइसकेको मोही माग्दा त तीन घन्टा पट्यारलाग्दो उपदेश सुनाउने, अनि आफूलाई ब्रह्माण्डको स्रष्टा र पालनकर्ता ठान्ने व्यक्तिले — आफूले भोगचलन गरिरहेको कुर्ची किस्तिमा राखेर दिने घोषणा गर्नु नै एउटा आश्चर्य हो। चानचुने कुरा होइन।
कुर्ची “दिने” र त्यो कुर्ची “लिने” बिच मध्यरातमा लाटो कोसेरोलाई साक्षी राखेर के कस्तो कवुलियतनामा भएको थियो त्यो गोप्यनै छ। जे होस कुर्चि किस्तिमा चड्ने कुराले कुर्ची आँफैमा फुरुन्ङ्ग छ।
प्रधानमन्त्रीज्यूले नेपालको कार्यकारी पदको कुर्सी राखेर दिने भन्नु भएको “किस्ती” आखिर कस्तो होला?
त्रिकोण? गोलाकार? कि चौकोठे? कि उहाको बौद्धिकता र नविनतम आविष्कारशैलीले कुनै नयाँ, अद्वितीय आकृति जन्माएको हो? घर–घरमा ग्यासको पाइप पुर्याउन सक्ने, हावाबाट बिजुली पठाउन सक्ने क्षमता र प्रविधिमा निपुण मानिएको व्यक्तिको कल्पना मजस्तो भुइँमान्छेले कसरी गर्न सकुँ?
किस्ती कत्रो होला? के त्यो किस्तीमा कुर्चीका चारवटै खुट्टा अटाउने होलान्, कि खुट्टा भाँचेर, मोडेर, कुनै स्मारक–झैँ प्रतीकात्मक कुर्ची मात्र राख्ने हो? हुन त, उहाँले सानो कुरा गर्नु हुन्न। टावर बनाउनु भयो भने गगनचुम्बी हुन्छ। रेल ल्याउनु भयो भने समुन्द्रदेखि हिमालसम्म दौडन्छ। पानीजहाज बनाउनु भयो भने “आईकन अफ सि” जत्रो पक्कै बनाउनुहुनेछ। । महाकाली नदी? त्यो पनि ठूलै हो— जलको आकार र लाभको हिसावले। काण्डहरू पनि उहाँ स-सानामा रमाउनु हुन्न—भव्य हुनु पर्छ! त्यसैले कुर्चि राख्ने किस्ती पनि निश्चय ठूलै हुनेछ—सस्तो प्लास्टिकको होइन, एकदमै आदर्श, सिद्धान्त, गठबन्धन र सत्तालिप्साले सजिएको किस्ती! उहाँको क्षमतामा प्रश्न गर्ने दुस्साहस हामीले किन गर्ने? हामीले त किस्ती र त्यसमाथिको कुर्ची हेर्ने, ताली बजाउने!
म अलिक जिज्ञासु स्वभावको व्यक्ति हुँ। उहाँले कुर्चि राखेर दिने किस्ती कुन पदार्थबाट बनेको होला— प्लाष्टिक, फलाम, स्टील, पित्तल, काठ, बाँस, चाँदी, सुन, वा कुनै अन्य बहुमूल्य धातुबाट? धर्मलाई अफिमसँग तुलना गर्ने मार्क्सवादी–लेनिनवादी दर्शनमा विश्वास राख्ने पार्टीका नेताले, दोहोरो संम्वाद नहुने श्रीपशुपतिनाथ मन्दिरमा करोडौँ मूल्यको सुनको जलहरी चढाउनु भएको थियो। बोलाइ स्पष्ट नभए पनि पेटबाठो भएका “अड्को-पडकोमा तेलको थुप” जस्तै काम लाग्ने व्यक्तिका लागि उहाँले पक्कै पनि कुनै बहुमूल्य किस्तीको व्यवस्था गर्नुहुनेछ भन्ने अनुमान गर्न सकिन्छ।
किस्तीबारे अर्को जिज्ञासा उठ्छ—त्यो कहाँ निर्मित होला? मेरो मन्दबुद्धिले भन्छ—पक्कै पनि भारतमा त बनेको होइन्। किनकि भारत जान उहाँले सिलाएको दौरा–सुरुवालका तुनाहरू त मोदीले बाँध्नै दिएनन्। कति विन्तिपत्र चडाउदा, पटक–पटक दूत पठाउँदा पनि ती तुना बाँध्ने साइत जुरेन।चीनले पनि कुर्चि ग्रहण गर्ने पात्र हेरिकन बनाइदिएको होजस्तो लाग्दैन। बरु ट्रम्पले पो उपहार पठाइदिएको हो कि? नेपालमा त पक्कै बनेन। आफुले पिउनेपानी त विदेशबाट आयत हुन्छ अरे। उपहारै दिने किस्ती के नेपालमै बनाउदथे। नेपालीहरुमाथि विश्वास भएको भए देशको यो दुर्दशा हुनेनै थिएन।
त्यो किस्ती नेपालसम्म कसरी आइपुग्यो होला? मेरो अनुमानमा या त रेलमार्ग भएर आएको हुनुपर्छ, वा समुद्री जहाजमा। किनभने यी नै दुई यातायात प्रणाली हुन् जसको उद्घाटन गर्ने सौभाग्य उहाँलाई प्राप्त भएको हो। यद्यपि, हेलिकप्टरमार्फत ल्याइएको हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न। जन्मदिनको केक नै हेलिकप्टर चार्टर गरेर मगाउने सामर्थ्य भएको व्यक्ति हो उहाँ। उपहार लिने मान्छेले पो ढुवानीको ब्यबस्था भयो कि? लिने मान्छेपनी “हेलिकप्टर चडेर आउने हैसियत भएकालाई भोट दिनु पर्दछ” भन्ने कुल घरानसंग नाता-संम्वन्ध भएकै मान्छे हुन।
त्यो किस्ती पक्कै पनि कुनै अलौकिक वस्तु हुनुपर्छ। ए हो नि, साँच्चै—त्यस किस्तीको मूल्य कति पर्ला? अनि त्यो मूल्य कहाँबाट असुल गरिन्छ? आफ्नो उपचारसम्म सरकारी कोषबाट गराउने व्यक्तिले त्यसको भुक्तानी आफ्नै गोजीबाट त पक्कै गरेका छैनन् होला। कि उपहार थाप्ने व्यक्तिबाटै असुली गर्नु भएको हो? जेल जानुपर्ने पात्रलाई अन्तर्राष्ट्रिय घुमन्ते बनाइदिएर जागिरे बनाउनु—यो त तपाईंको चालाकीको उत्कृष्ठ नमुना हो। ट्रिक लगाउन त तपाईं सिद्धहस्त नै हुनुहुन्छ। सहकारी ठगीमा चामलभित्रका कनिका टिप्न त पछि पर्नु भएन, तर चामलसँगै मिसिएका ढुंगो र बियाँ भने चामलकै पातलो तहले लुकाउनु भएको छ। कुरा बटार्न र बिपक्ष थेचार्न उहासंग कसैको तुलना हुँदैन। घर-घर रेल पुर्याउने पनि उहा र घर भत्किन्छन भनेरे रेल नबनाउने पनि उहानै।
त्यो किस्ती किन्दा वा बनाउँदा जनताले डोकोमा बेच्ने साग वा बाख्राको पाठो किन्दा तिर्ने करबाट नै असुल गरिएको हुन सक्छ। जे भए पनि—उपहार दिने त्यो भाँडोमा जनताको रगत–पसिनाले निर्माण भएको भन्नेमा म पूर्ण विश्वस्त छु। जनसहभागिता भन्नुको अर्थ यही हो—पूर्वराजादेखि लिएर भुरे टाकुरे ‘पिर्के राजा’ हरूको खानपानको व्यवस्था जनताकै ढाडमा चढेर गरिन्छ। चाहे प्रत्यक्ष होस् या अप्रत्यक्ष—भार अन्ततः जनताकै काँधमा आउँछ।
उहाँले कुर्चि उपहार दिन अरू कुनै भाँडोको सट्टा किस्ती रोज्नुको पनि निश्चितै कुनै खास कारण हुनुपर्छ जस्तो लाग्छ। होइन भने— कुर्चि त डोकोमा बोकेर, ठेलामा राखेर, नाम्लोले झुंड्याएर, थुन्सेमा हालेर, वा ट्याक्टरमा गुडाएर पनि उपहार दिन सकिन्थ्यो। तर, उहाँले किस्तिनै रोज्नुभयो। सामान्यतया, किस्तीमा राखेर दिने वस्तुहरू हुन्छन्—चिया, कफी, जुस, पकौडा, सिंगडा, लालमोहन, रसबरी, रौसी आदि। यी सबै खाने वा पिउने वस्तु हुन्। प्रधानमन्त्री पद पनि अन्ततः ‘खाने’ पद भएकाले—त्यसलाई किस्तीमै राखेर दिनु प्रतीकात्मक रूपमा सान्दर्भिक ठहरियो होला। प्रधानमन्त्रीजस्तो गरिमायुक्त पद टपरिमा दिनु भएन। कस्तो सटीक र अर्थगर्भित छनोट गर्नु भयो—साँच्चै, वाह!
किस्तीमा राखिएको उपहार ग्रहण गर्ने व्यक्तिमा बुद्धिबङ्गरा भर्खर पलाउन थालेका छन्। नवयुवा, देश र जनताको सेवाभावले ओतप्रोत । देशको मुहार परिवर्तन गर्ने हुटहुटीले उहाँलाई पल–पलमा ज्योतिषसंग आफ्नो कुण्डली जाँच्न जाच पडताल गराई रहन्छन। कतै प्रधानमन्त्रीको कुर्सीको सट्टा कुसको कुर्सी पो दिने हो कि भन्ने चिन्ताले सताइरहेको हुन सक्छ।
उपहार दिने चतुर र बाठा छन। कुशको कुर्ची बनाएर दिए भने के गर्ने? कुसको गाई हुन्छ, बाहुन हुन्छ, औँठी हुन्छ भने कुर्सी किन नहुने?’—भनेर अत्तो थापे भने, त्यसको उत्तर के दिने? जहाँ विश्वासमा संका हुन्छ त्यहा तनाव हुनु स्वभाविक हो। कुर्सी हस्तान्तरण गर्दा कतै लफडा भएर अर्को कसैले कुर्सी नै टप्काउने त हैन भन्ने आशंका पनि मनमा घन्किएको हुन सक्छ। त्यही कुर्सी हेर्दै—हिलो, फोहोर, र दुर्गन्ध खप्दै र सहभागिता जनाउदै आएका फ्याट्ट कुर्ची आफ्नो हातबाट फुल्कियो भने त सत्यनास हुन्छ। किनभने कुर्सी केवल कुर्सी मात्र होइन—त्यससँग जोडिएका विगत र वर्तमानका कुकर्महरुले क्षणभरमै नर्कको यात्रा जानु पर्ने हुन सक्दछ।
अरूका लागि त्यो कुर्चि सादा वस्तु हो, तर उहाँका लागि त्यो जीवन रक्षक कवच हो। राष्ट्रियता बदलिएका केटाहरूलाई अमेरिका पुग्नेबित्तिकै ट्रम्पले फर्काइदिए भने के गर्ने? बरु झापातिरको फिक्का चिया नै स्वाद मानेर पिउनु उचित लाग्दो हो।
किस्तीमा राखेर कुर्चि हस्तान्तरण गर्दा केही फरक पर्दैन। किनकि लिने र दिने दुवैको क्षमता, गुण, कार्यशैली, लक्ष्य, स्वभाव, र चरित्रमा गहिरो भिन्नता छैन—अन्ततः एउटाले अलिक बढी बोल्छ, अर्को अलिक कम। लाभान्वित वर्ग भने सधैंजस्तै—उही र उस्तै। हामी जनता एकदिन तिनैलाई भोट दिने र बाँकी ५ बर्ष तिनिहरुकै कुर्चिको खेल हेर्ने।


