नेपालले आफ्नो लामो इतिहासमा विभिन्न राजनीतिक व्यवस्था भोगेको छ—राजतन्त्र, जहानियाँ राणा शासन, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रजस्ता । यी सबै व्यवस्था समयानुसारको आवश्यकताको उपज थिए, तर दुर्भाग्यवश, कुनै पनि व्यवस्थाले नेपाली जनताको अपेक्षा अनुरूप समृद्धि र स्थायित्व दिन सकेन । त्यसैले आजको यथार्थलाई हेर्दा, यो स्पष्ट हुन्छ कि व्यवस्थाको नाम फेरिएर मात्र विकास सम्भव हुँदैन; इमानदार, दूरदर्शी र जनउत्तरदायी नेतृत्व नै देशको समुन्नतिको मूल कुञ्जी हो ।
शताब्दीयौं पुरानो राजतन्त्रमा नेपाल एक राजाको शासन प्रणालीमा थियो, जहाँ जनताको सत्तामा प्रत्यक्ष सहभागिता थिएन । त्यसपछि आएको राणा शासन झनै दमनकारी र निरंकुश सिद्ध भयो । राणा शासनले देशलाई विश्वबाट टाढा राख्यो र शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका क्षेत्रमा न्यूनतम विकाससमेत हुन दिएन । जनआन्दोलनपछि सुरु भएको प्रजातन्त्रले जनतामा आशा जगायो, तर भ्रष्टाचार, स्वार्थ र नेतृत्वको अदूरदर्शिताले यो अवसर पनि गुमाइयो ।
पञ्चायतकालीन निर्दलीय व्यवस्थाका क्रममा केही विकास त भयो, तर निर्दलीयताका कारण प्रतिपक्षको अभावले सत्ताको जवाफदेहिता हरायो । बहुदलीय प्रजातन्त्रपछि केही समय जनताले आशा गरे, तर राजनीतिक दलहरूको आपसी कलह, घूसखोरी, परिवारवाद र सत्ता–लोभले त्यो पनि अलपत्र प¥यो । पछिल्लो समय गणतन्त्रात्मक संघीय लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरिए पनि मुलभूत समस्या उस्तै छन्, नेताहरू जनताको सेवक बन्नुको सट्टा, दलगत स्वार्थमा अल्झिएका छन् ।
यी सबै प्रणालीमार्फत एक कुरो स्पष्ट हुन्छ— केवल राजनीतिक व्यवस्था बदलिनु नै देशको उन्नतिको ग्यारेन्टी होइन । आज नेपालमा धेरैजसो समस्या यसकारण छन् कि नेतृत्व इमानदार छैन । नेताहरूको प्राथमिकता आफ्नो पद, पार्टी वा परिवारको स्वार्थ हो, न कि देश र जनताको सेवा । कतिपय नेताहरू लोकतन्त्रको नाममा भ्रष्टाचारलाई संस्थागत गरिरहेका छन् । दुईदलीय व्यवस्था होस् वा बहुदलीय, सत्तामा आउनेहरू इमानदार भएमा जुनसुकै व्यवस्था पनि सफल बनाउन सकिन्छ । विगतमा सिंगापुरका ली क्वान यु जस्ता नेताहरूले इमानदारी र पारदर्शी शासनमार्फत देशलाई परिवर्तन गरे । यसले देखाउँछ नेतृत्वमा चरित्र, प्रतिबद्धता र दृष्टिकोण भए, प्रणाली सफल हुन सक्छ ।
पछिल्लो समय नेपालमा फेरि दुई दलीय व्यवस्थाको बहस हुन थालेको छ । दलहरु यसको पक्ष विपक्षमा उभिएका छन् । तर नेपालका लागि अब यो बहस गौण हुन थाल्नु पर्छ कि कुन प्रणाली राम्रो हो— बहुदलीयता कि दुई दलीयता । आवश्यक कुरा हो— ईमानदार, देशभक्त र जनमुखी नेतृत्वको छनोट । नेतृत्व शुद्ध भए, भ्रष्टाचार हट्छ; नेताहरू सक्षम भए, नीति सफल हुन्छ; अनि शासन जवाफदेही भए, जनताको विश्वास बढ्छ । त्यसैले अबको नेपालले प्रणाली होइन, नेतृत्वको गुणस्तरमा ध्यान केन्द्रित गर्नु आवश्यक छ । इमानदार नेतृत्व नै परिवर्तनको आधार हो । जनताको हित हुने र देशलाई आत्मनिर्भर, स्वाभिमान र समृद्ध नेपाल निर्माणको बाटो पछ्याउने नेता चाहिएको हो, पद्धति जुनसुकै भए पनि फरक पर्दैन । व्यवस्था परिवर्तनको नाममा फेरि अर्को प्रयोग नगरी, नेतृत्व सुधारतर्फ लाग्नु आजको नेपालले सिक्नुपर्ने मूल पाठ हो ।
जनधारणा साप्ताहिक