काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु भएको जनाएका छन् । उनले यही यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको जनाए।
नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्र सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट पारे ।
‘आशा गछौँ, यो संवाद त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा घरबासहरू पहिरोले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात् आउँछन् । तर अझै हामी डटिरहेका छौँ । हाम्रो उत्सर्जन न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छ ।’


