विराटनगर । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षामा कुनै कम्प्रोमाइज नहुने जनाएका छन् ।
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा मजबुत हुँदा मात्रै विकासले फड्को मार्ने भएकाले शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने जनाए ।
पछिल्लो समय सुरक्षामा नयाँ चुनौती देखापरेको भन्दै गृहमन्त्री लेखकले बदलिँदो समयसँगै देखिएका अपराधका नयाँ–नयाँ शैलीलाई विश्लेषण गर्दै सुरक्षा प्रबन्ध मिलाउन पनि निर्देशन दिए । साइवर क्राइम, लागुऔषध प्रयोग, सवारी दुर्घटना र आत्महत्याका घटना बढेको बताउँदै उनले भने, ‘यी अपराध र घटना एकअर्कासँग अन्तरसम्बन्धित छन्, निर्मम रुपमा लागेर यी घटना नियन्त्रण गर्नुपर्छ ।’ सीमा क्षेत्रमा तस्करी बढेको जनाउँदै उनले त्यसलाई तुरुन्त रोक्न निर्देशन पनि दिए ।
‘यसले राजस्व घटाएको छ, अपराध बढाएको छ । अबको एक महिना भित्र अनुभूति हुनेगरी तस्करी रोक्नुहोस्, गृहमन्त्री लेखकले भने, ‘भएन भने गृह मन्त्रालयले अर्को एक्सन लिन्छ ।’ उनले व्यवस्था विरोधी र संविधान विरोधी गतिविधि सैह्य नहुने पनि जनाए ।
आजको युगमा जन्मका आधारमा शासन गर्न नपाइने भन्दै गृहमन्त्री लेखकले लोकतन्त्र र संविधान रक्षाका निम्ति कुनै कम्प्रमाइज नगर्न निर्देशन दिए । जिल्ला प्रशासन र प्रहरी कार्यालमा आउने सेवाग्राहीलाई गर्ने व्यवहार र प्रवाह गर्ने सेवाले नागरिकले व्यवस्थाप्रति धारणा बनाउने बताउँदै उनले सजिलो, छिटो र स्वाभिमानपूर्वक सेवा पाउने वातावरण बनाउन निर्देशन समेत दिए ।
साे कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साइबर सुरक्षा र लागुऔषध प्रयोगको चुनौती थपिएको जनाए । त्यसमा विशेष चासो राख्न सुरक्षा निकायलाई आग्रह गरे । प्रदेशमा पहिचानवादी आन्दोलन पनि सुरक्षा चुनौतीको रुपमा रहेको उनको भनाई थियो ।


