काठमाडौं । भारतले पाकिस्तानमाथि गरेको आक्रमणपछि बोलाइएको पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको आपतकालीन बैठकले सशस्त्र बललाई सम्बन्धित कारबाही गर्न अधिकार दिएको छ । बुधबार इस्लामाबादमा प्रधानमन्त्री शेहबाज शरीफको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले पाकिस्तानले आफ्नो समय, स्थान र तरिकाले जवाफ दिने अधिकार सुरक्षित राखेको जनाएको छ ।
बैठकपछि प्रधानमन्त्री निवासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको बडापत्र अनुसार, पाकिस्तानले निर्दोष पाकिस्तानी जीवनको क्षति र आफ्नो सार्वभौमसत्ताको स्पष्ट उल्लंघनको बदला लिन आफ्नो रोजाइको समय, स्थान र तरिकामा आत्मरक्षामा प्रतिक्रिया दिने अधिकार सुरक्षित राख्छ । पाकिस्तानको सशस्त्र बललाई यस सम्बन्धमा उपयुक्त कारबाही गर्न औपचारिक रूपमा अधिकार दिइएको छ।’
बैठकले अन्तर्राष्ट्रिय समुदायलाई भारतको गैरकानूनी कार्यहरूको गम्भीरतालाई स्वीकार गर्न र अन्तर्राष्ट्रिय मान्यता र कानूनको स्पष्ट उल्लङ्घनको लागि जवाफदेही बनाउन आह्वान समेत गरेको छ । त्यस्तै बैठकले भारतीय आक्रमण मृत्यु भएकाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै आक्रोशित पाकिस्तानी राष्ट्रले सशस्त्र सेनाको बहादुरी र साहस र मातृभूमिको रक्षामा उनीहरूको समयमै कारबाहीको उच्च कदर समेत गरेको छ ।
–एजेन्सी

