कीर्तिपुर । बरिष्ठ प्राडाहरुले प्राध्यापकहरु अध्यापनमा मात्रै सिमित नरही अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्नेमा जोड दिएका छन् ।
विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुर र मंगल बहुमुखी क्याम्पस कीर्तिपुर काठमाडौंको संयुक्त आयोजनामा राजधानीमा भएको तीन दिने जर्नल आर्टिकल लेखन कार्यशालाको शनिबार भएको समापन समारोहमा उनीहरुले यस्तो सुझाएका हुन् ।
मंगल रिसर्च जर्नलका प्रधान सम्पादक प्राडा लक्ष्मीबहादुर महर्जनले अनुसन्धानमा नयाँंनयाँं तथ्य पता लगाउनमा प्राध्यापकहरु जुट्नु आवश्यक रहेको चर्चा गरे । जर्नल अफ हेल्थ प्रोमोशनका प्रधान सम्पादक प्राडा श्यामकृष्ण महर्जनले अनुसन्धानले व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने बताए । कार्यक्रममा आयोजक मंगल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रदीप महर्जन, गोष्ठी संयोजक एवं गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक उपेश महर्जन, क्याम्पसका व्यवस्थापन समितिका सदस्य अजय सिंह, प्रशिक्षार्थीहरुकोतर्फबाट ख्वप कलेजका कृष्ण किसी, शिखरापुर क्याम्पसका अनिता भण्डारीलगायतले अनुसन्धानको महत्वबारे चर्चा गरे ।
गोष्ठीमा प्राडा लक्ष्मीबहादुर महर्जन, प्राडा श्यामकृष्ण महर्जन, त्रिवि शिक्षाशाश्त्र संकायका प्राडा रमेश अधिकारीलगायतले जर्नल आर्टिकल लेखनका विविध विषयहरुमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण प्रत्येक दिन विहान ७ बजेदेखि दिउँंसो २ बजेसम्म चलेको थियो ।