सुर्खेत । उच्च अदालत बार एशोसिएशन सुर्खेत र जिल्ला अदालत बार एशोसिएशन सुर्खेतले अदालतको स्वतन्त्रता, निष्पक्षता र विधिको शासनमाथि आघात हुने कार्यहरूप्रति गम्भीर आपत्ति जनाएका छन्।
२०७७ जेठ १० गते रुकुम पश्चिमको सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्या प्रकरणमा जातीय भेदभावसम्बन्धी जिल्ला अदालतले गरेको फैसला उच्च अदालत सुर्खेतले बदर गरेपछि पीडित पक्ष र दलित अधिकारकर्मीहरूले अदालत परिसरमा प्रदर्शन गर्दै मुख्य गेटमा तोडफोडसमेत गरेका थिए।
यसअघि, उच्च अदालत सुर्खेतले उक्त घटनामा दोषी ठहर २३ जनाको जन्मकैदको सजाय सदर गरे पनि जातीय भेदभावसम्बन्धी सजाय बदर गरेपछि दलित समुदायमा तीव्र असन्तोष चुलिएको छ। त्यसैको विरोधस्वरूप दलित अधिकारकर्मी खगेन्द्र सुनारसहित मृतक नवराज विकका आफन्तहरू अदालत अगाडि धर्नामा बसेका छन्।
उनीहरूले ‘नवराजको हत्यामा न्याय दे’, ‘जातीय विभेदको फैसला बदर गरिनु न्यायको अपमान हो’, ‘दलितको ज्यान सस्तो छैन’ भन्ने नारासहित विरोध प्रदर्शन गर्दै आएका छन् । बार एशोसिएशनहरूले भने यस्ता घटनाले न्यायपालिकाको गरिमा र स्वतन्त्रतामाथि प्रश्न उठ्ने भन्दै सबैलाई संयमित र कानूनी प्रक्रिया अनुसार अघि बढ्न आग्रह गरेका छन्।



