काठमाडौं । आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच छलफल भएको छ ।
प्रधानमन्त्रीसँग छलफल गर्न मन्त्री भट्टराई आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् । शिक्षकको आन्दोलन चलिरहेकाबेला यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
‘प्रधानमन्त्रीसँग मन्त्रीले छलफल गर्नु स्वाभाविक हो । उहाँ आउनु भएको छ,’ बालुवाटर स्रोतले जनायाे । मन्त्रालयलले तयार पारेको सात बुँदे प्रस्तावबारे आज मन्त्रिपरिषदमा छलफल हुँदैछ । त्यसअघि मन्त्री भट्टराईले प्रधानमन्त्रीसँग भेट गरेकी हुन् ।
ईसीडीका शिक्षकको तलब १७ हजार ३०० बनाउने, सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज बनाउने, दुर्गम भत्ता उपलब्ध गराउने, ग्रेड समायोजन गर्ने, मर्यादा क्रम कायम गर्ने, हाललाई निजामती अस्पतालबाट शिक्षाको उपचारमा छुटको व्यवस्था गर्ने लगायतका प्रस्ताव शिक्षा मन्त्रालयले तयार पारेको छ ।


