काठमाडौं। स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
स्थानीय सेवा कर्मचारी सञ्जालले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। आफूहरूका माग समेटेर छिटोभन्दा छिटो निजामती ऐन जारी गर्न दबाबस्वरुप आन्दोलन घोषणा गर्न बाध्य भएको सञ्जालले जनाएको छ।
‘पटक–पटक ध्यानाकर्षण गराउँदासमेत राज्य व्यवस्था तथा सुशासन समितिको उदासिनताका कारण सरकारले मिति २०८०।०६।२७ गते गरेको सम्झौता र स्थानीय तहका कर्मचारीका माग मुद्दाका विषयमा दर्ता भएको संशोधन प्रस्तावमा भएका विषयहरुलाई संघीय निजामती सेवा विधेयकमा समावेश गराई छिटोभन्दा छिटो संघीय निजामती सेवा ऐन जारी गर्न दबाबस्वरुप चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ।
आन्दोलनका कार्यक्रमअन्तर्गत वैशाख ७ गते ७५३ वटै पालिकाका प्रमुखमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउने सञ्जालको भनाइ छ।
यस्तै, चैत ८ गते स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु र बागमती प्रदेशका सम्पूर्ण स्थानीय तहका कर्मचारीहरु र उपलब्ध अन्य प्रदेशका स्थानीय तहका कर्मचारीहरु काठमाडौँमा भेला भई दबाबमूलक कार्यक्रम गर्ने र ७५३ वटै स्थानीय तहमा कालोपट्टी बाँधी काम गर्ने विज्ञप्तिमा उल्लेख छ।
फागुन ९ गते यथाशीघ्र स्थानीय तहका मागहरु समावेश नगरिए केन्द्रीय समितिको निर्णय बमोजिमकाठमाडौँ केन्द्रित सडक आन्दोलन तथा सम्पूर्ण ७५३ वटै स्थानीय तहमा पेन डाउनका कार्यक्रमहरु गर्ने सञ्जालले जनाएको छ।