काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । आज हुने प्रदर्शनले सरकारले घोषणा गरेको निषेधित क्षेत्र तोड्ने भन्दै चेतावनी दिइएको छ ।
राप्रपाले यस्तो चुनौती दिएसँगै सरकारले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । त्यस्तै प्रदर्शनका कारण हुन सक्ने सवारी जामलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले डाइभर्सनको पनि तयारी गरेको छ ।
उता राप्रपाले निषेधित क्षेत्र तोड्ने जनाएसँगै गृह मन्त्रालयले यसबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार शनिबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गरी समाजमा अशान्ति फैलाउने उद्देश्यले गरिने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो ।
मन्त्रालयले यस्तो कार्य गर्ने व्यक्ति वा समूहलाई कानुनअनुसार कडा कारबाही गरिने पनि चेतावनी दिएको छ । ‘प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरूप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’
मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत आग्रह गरेको छ ।


