काठमाडौं । सरकारले डिजिटल रुपान्तरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई प्रमुख साधनको रूपमा पहिचान गर्दै डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गरेको छ । डिजिटल प्रविधिको रणनीतिक उपयोग गर्दै नेपाललाई डिजिटल युगमा अगाडी बढाउने लक्ष्यसहित सरकारले अघिल्लो फ्रेमवर्कलाई परिमार्जन गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिकमा डिजिटल नेपाल फ्रेमवर्कको पहिलो संस्करण ९डीएनएफ १।०० सार्वजनिक गरेका थिए । आर्थिक वर्ष २०८० र ८१ भित्र सम्पन्न गरिसक्ने लक्ष्यसहित त्यसमा आठ प्रमुख क्षेत्रका ८० डिजिटल परियोजनाहरू अघि सारिएको भए पनि कार्यान्वयन हुन सकेन । स्वामित्वमा समस्या, अन्तरनिकाय समन्वयको अभाव, सीमित स्रोत(साधन, वित्तीय अभाव र प्राविधिक क्षमताको कमीका कारण कार्यान्वयनमा चुनौती देखिएको नयाँ फ्रेमवर्कको मस्यौदामा उल्लेख छ ।
सरकारका यी चुनौती समाधान गर्न नयाँ प्रविधिसहितको पूर्वाधार विकास, दक्ष जनशक्ति तयार पार्ने नीति र प्रभावकारी कार्यान्वयन संयन्त्रलाई प्राथमिकता दिँदै फ्रेमवर्क परिमार्जन गरेको जनाएको छ । डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदाले एआईलाई स्वास्थ्य, वित्तीय सेवा, कृषि, पर्यटन, शिक्षा तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा रूपान्तरणकारी टुलका रूपमा प्रयोग गर्ने प्रस्ताव गरेको छ ।
डीएनएफ २.० को प्रभावकारी कार्यान्वयनका लागि फाइभजीजस्ता उच्चगुणस्तरीय इन्टरनेट विस्तार, डाटा होस्टिङ र क्लाउड पूर्वाधारको तयारी, डिजिटल पहिचान प्रणालीको सुदृढीकरण र डिजिटल साक्षरताको वृद्धि जस्ता महत्वपूर्ण पक्षहरूलाई प्राथमिकता दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा तयार पारेको हो । मन्त्रालयले मस्यौदा अध्ययन गरी आफ्ना रायसुझाव पठाउन अनुरोध गरेको छ ।
साइबर सुरक्षा, डेटा सुरक्षा, एआई रेडिनेस, ई(सिग्नेचर तथा अथेन्टिकेसनलाई फ्रेमवर्कमा सुरक्षित, पारदर्शी र जवाफदेही डिजिटल प्रणालका आधारका रूपमा औँल्याइएको छ । डिजिटल नेपाल फ्रेमवर्क २.० मा सूचना प्रविधि क्षेत्रका लागि दक्ष जनशक्ती निर्माण, सरकारी जनशक्तीको डिजिटल सिप तथा क्षमता सुधारसँगै देशको समग्र डिजिटल अर्थतन्त्रीको विकासमा आफ्नो मुख्य उदेश्यका रूपमा औँल्याइएको छ ।


