काठमाडौं । प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसद् बैठक चल्न नसक्ने जनाएका छन्।
बुधबारको संसद् प्रतिपक्षी अवरोधका कारण चल्न नसकेका कारण बिहीबारका लागि सरेपछि संसद् परिसरमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै दाहालले यस्तो जनाएका हुन्।
‘प्रधानमन्त्रीले रोस्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्दैन । प्रधानमन्त्रीले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै हाउस चल्छ । स्पष्टीकरण पनि जालझेलवालै भयो आन्दोलन अगाडि बढ्छ,’ अध्यक्ष दाहालले भने। उनले प्राधिकरणका प्रमुखका रूपमा कुलमान घिसिङले राम्रो काम गरेको भनी प्रतिक्रिया पनि दिए।
उनले संक्रमणकालीन न्यायसँग कुलमान साटेको भन्ने आरोपप्रति पनि आपत्ति प्रकट गरे। ‘राप्रपाका ज्ञानबहादुर शाहीलगायतले भने, लौ ! प्रचण्डले टीआरसीसँग कुलमान साट्यो । योभन्दा झुटो बेइमानीपूर्ण र आपराधिक प्रचार केही हुन सक्छ ?’ उनले सञ्चारकर्मीहरूसँग भने।
प्रधानमन्त्री ओलीले फेरि जालझेल गरेको उल्लेख गर्दै दाहालले भने, ‘सिंहदरबार गएर टीआरसी टुंग्याएलगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्कको कुरा सम्झायो । फेरि एकचोटि निकै ठूलो जालझेल भएको मलाई महसुस भयो । चिन्तित र दु:खी छु ।’