ढाका । बंगलादेशको गार्मेन्ट क्षेत्र अहिले गम्भीर संकटबाट गुज्रिरहेको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछिको सात महिनामा त्यहाँ १४० भन्दा बढी गार्मेन्ट कारखानाहरू बन्द भएका छन् । यसका कारण एक लाखभन्दा बढी कामदारले रोजगारी गुमाएका छन् । गाजीपुर, सावर, नारायणगञ्ज र नरसिन्दीमा मात्र ५० भन्दा बढी कारखाना पूर्ण रूपमा बन्द भएका छन् भने लगभग ४० कारखाना अस्थायी रूपमा बन्द छन् ।
बन्द भइरहेका अधिकांश कारखाना हसिनाको पार्टीका नेताहरूसँग सम्बन्धित
यहाँ कामदारहरूले समयमै ज्याला र बोनस पाउँथे । यो बन्द हुँदा समस्या भइरहेको छ । स्रोतका अनुसार कयौं ठूला कपडा व्यापारीहरू देश छोडेर गएका छन्, जसका कारण कारखाना बन्द हुने समस्या झनै गम्भीर बनेको छ ।
कपडा कारखाना बन्द भइरहेका सम्बन्धमा सरकारले बजारमा अर्डरको अभावका कारण उत्पादन रोकिएको तर्क गरिरहेको छ । तर गार्मेन्ट वर्कर्स ट्रेड युनियन सेन्टरका कानुनी मामिला सचिव खैरुल मामुन मिन्टुले यो सरासर झूट भएको दाबी गर्छन् । अर्डरहरू अझै पनि आइरहेको तर बाँकी रहेका कारखानाहरू थप दबाबमा परेको उनी जनाउँछन् ।
राजनीतिक कारणले गर्दा संकट गहिरो भएको र यसलाई नियन्त्रण गरिएन भने देशमा आर्थिक मन्दी आउन सक्ने भन्ने खालका तर्कहरू पनि आइरहेका छन् । यस क्षेत्रलाई सुधार गर्न कुनै कदम नचालेको आरोप मोहम्मद युनुस सरकारमाथि लाग्न थालेको छ ।