काठमाडौं । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधनमा नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले उपचारको क्रममा ७७ वर्षको उमेरमा निधन भएको दुःखद खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको जनाएका छन् । मस्तिष्कघात भएपछि उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएका बस्नेतको आज निधन भएको हो ।
उनले शोक विज्ञप्तिमार्फत भनेका छन्,‘पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिनुभएका बस्नेत देशान्तर साप्ताहिकका संस्थापक सम्पादक हुनुहुन्थ्यो । बस्नेतले राष्ट्रिय समाचार समिति र गोरखापत्र संस्थानमा अध्यक्षको रूपमा रही सेवा गर्नुभएको थियो । बस्नेतको निधनले नेपाली पत्रकारिता जगत्ले एक योग्य, अनुभवी र परिपक्व पत्रकारलाई गुमाएको छ ।’
‘नेपाल पत्रकार महासंघ स्वर्गीय बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । र, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामनासहित गहिरो समवेदना प्रकट गर्दछ,’ उनले भने ।