काठमाडौँ / सत्तारूढ कांग्रेसनिकट नेविसंघका नेतासहितको समूहले त्रिभुवन विश्वविद्यालयमा रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यकक्षमा शुक्रबार तोडफोड गरेको छ । नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउद, त्रिवि संघर्ष समितिका संयोजक सिकेन्द्र रोकायालगायत पाँच/सात जनाको समूहले रेक्टर खड्ग केसी र डिन शंकर खनालको कीर्तिपुरस्थित कार्यकक्षमा तोडफोड गरेको हो ।
कार्यकक्षमा रहेका कुर्सी, सिसा, टेबल, दराज र सोफामा क्षति पुगेको रेक्टर र डिन कार्यालयले जनाएका छन् । दुवै कार्यकक्ष साउद नेतृत्वको समूहले तोडफोड गरेको प्रत्यक्षदर्शीको भनाइ छ । रेक्टर केसी र डिन खनालले भने कसले र किन कार्यकक्ष तोडफोड गर्यो भन्नेबारे थाहा नभएको बताए । ‘म कार्यकक्षमा नपुग्दै तोडफोड भइसकेको थियो,’ रेक्टर केसीले भने, ‘घटनाबारे कीर्तिपुर प्रहरी वृत्तलाई जानकारी गरेका छौं ।
प्रहरीले अनुसन्धान गर्दै होला ।’ केन्द्रीय विभागको शुल्क घटाउनुपर्नेलगायतका माग रेक्टरसँग राखेर विद्यार्थीले त्रिवि संघर्ष समितिमार्फत केही दिनदेखि आन्दोलन गर्दै आएका थिए । आन्दोलनको नेतृत्वमा नेविसंघ आबद्ध विद्यार्थी छन् । उनीहरूले ज्ञापनपत्र बुझाएर रेक्टर कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । तर विश्वविद्यालय प्रशासनले ताला फुटाएपछि उनीहरू आक्रोशित भएका थिए । त्यही समूहले तोडफोड गरेको कर्मचारी र विद्यार्थीको भनाइ छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनसँग भने भौतिकशास्त्रका विद्यार्थीले स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा सार्न आग्रह गरिरहेका थिए । ‘स्ववियु निर्वाचनपछि परीक्षा छ । त्यसलाई सार्नुपर्यो भनेर विद्यार्थीले माग गरिरहेका थिए । मैले सार्नु हुँदैन भन्दै आएको थिएँ,’ डिन खनालले भने, ‘अरू कुनै विवादित विषय थिएन । तोडफोड गर्नुको कारण त्यही हो वा अरू भन्ने पनि थाहा छैन ।’
नेविसंघका विद्यार्थी तोडफोडमा संलग्न भएको भेटिएपछि नेविसंघ त्रिवि इकाइ समितिले विज्ञप्ति निकालेर तोडफोडमा संगठनको आधिकारिक संलग्नता नरहेको जनाएको छ । इकाइ सभापति विष्णु बडैलाले जारी गरेको विज्ञप्तिमा यस सम्बन्धमा संगठनबाट आधिकारिक निर्णय वा निर्देशन नभएको उल्लेख छ ।
‘कुनै पनि प्रकारको हिंसात्मक वा तोडफोड गतिविधिलाई नेविसंघले समर्थन गर्दैन । तोडफोड जस्ता असभ्य क्रियाकलाप नेविसंघको आदर्श र आस्थाविपरीत छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यो हाम्रो कुनै आधिकारिक निर्णय वा निर्देशनअनुसार गरिएको कार्य होइन । भ्रामक समाचार र निराधार आरोपप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’