काठमाडौं । संयुक्त राष्ट्रसङ्घले अमेरिकाको न्युयोर्कमा आयोजना गर्नेे बेइजिङ+३० समीक्षामा नेपालले १२ वटा सरोकारका क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने भएको छ ।
आउँदो मार्च १० देखि २५ तारिखसम्म समीक्षा कार्यक्रम हुने जनाइएको छ । नेसनल नेटवर्क फर बेइजिङ समीक्षा नेपाल (एनएनबीएन) र महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले नागरिक समाजको तर्फबाट तयार पारिएको प्रतिवेदन न्युयोर्कमा प्रस्तुत गरिने भएको हो । बेइजिङ+३० समीक्षामा प्रस्तुत गर्ने प्रतिवेदनबारे जानकारी दिन बिहीबार आयोजित कार्यक्रममा मञ्चकी अधिवक्ता बिनु लामाले प्रतिवेदनमा समावेश विषयवस्तुबारे जानकारी दिइन् ।
कार्यक्रममा प्रतिवेदन कसरी तयार पारिएको थियो भन्नेबारे भिडियो सन्देश प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा १२ वटा एजेन्डा पहिचान गरेर चार भागमा विभाजन गरिएको छ । बयासी पेजको उक्त प्रतिवेदनमा महिला र शिक्षा, महिला र अर्थतन्त्र, महिलाको मानवअधिकार, महिला र गरिबी, महिला र स्वास्थ्य, शक्ति संरचना निर्णय प्रक्रियामा महिला, महिला र सञ्चार, महिला र वातावरण, महिलाको उन्नतिका लागि संस्थागत संरचना, महिला र सशस्त्र द्वन्द्व, महिलाविरुद्धको हिंसा र बालिका सरोकारका क्षेत्र समेटिएको छ ।
सहभागीहरूले यौनकर्मी महिलाको मानवअधिकार र आप्रवासी महिलाको विषय प्रतिवेदनमा छुटेको उल्लेख गरेका थिए । मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले समीक्षा प्रतिवेदनमा सबै कुरा समेटिएको बताए। बेइजिङ+३० समीक्षामा सन् २०३० दिगो विकासका एजेन्डा र अन्य विश्वव्यापी लैङ्गिक समानताका प्रतिबद्धताको कार्यान्वयनलाई बलियो बनाउने अवसर हुने उनले सुनाए।