काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको जनाएका छन् ।
हिजो ह्वाईटहाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको प्रत्यक्ष वार्ताबारे उल्लेख गर्दै उनले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । छिमेकसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरुले पनि दुःख पाउनुपर्दो रहेछ भन्ने टिप्पणी गरेका छन् ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्–
अमेरिका र युक्रेन बीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ । हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसंगको सम्वन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसंगको सम्वन्ध विग्रदा ठुला र शक्तिशाली देशहरुले पनि दुःख पाउनु पर्दोरहेछ । छिमेकका विरुद्ध वाहिरवाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुदो रहेछ।
आज रुश र युक्रेन दुबैका लागि युद्ध घाडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरुले निकै ठुलो मुल्य चुकाउनु पर्ने अवस्था देखिदैछ । शान्ति र स्थायित्वका लागि अव हरेक देशले सोच्नु पर्दछ, क्षेत्रिय शान्ति विना विश्व शान्ति सम्भव हुदैन । त्यसमाथि एशियाली देशहरुले आपसी सम्वन्धको विकासमा जोड़ दिने हो भने एशिया विश्वसभ्यताको केन्द्रका रुपमा पुनः स्थापित हुने अवस्था छ ।
अमेरिकाको पछिल्लो रणनीतिले अवको एशिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गर्दछ । गाजा क्षेत्र प्यालेस्टानीहरुवाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ । साथै रुश र युक्रेन बीचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसंग जोडिएको देखिएन । त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय वन्न पुगेको छ । यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ । यस प्रकारको परिस्थितिवाट एशियाली राष्ट्रहरु विशेष ढंगले सचेत बन्नु आवश्यक छ ।