काठमाडौं । लागुऔषध बिरुद्धको महाअभियान सुरु भएको छ। नेपाल प्रहरीले सुरु गरेको महाअभियानको गृहमन्त्री रमेश लेखकले उद्घाटन गरे।
महाअभियानको उद्घाटन गर्दै लेखेले देशलाई नै लागूऔषधमुक्त बनाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताए।
जसका लागि पहिला स्थानीय तहलाई प्रभावकारी रुपमा जोड्नुपर्ने उनको भनाइ छ।
‘यस महाअभियानमा स्थानीय तहलाई जोड्न जरुरी छ। किनभने यो अभियानलाई वडा वडा स्तरमा पुर्याउन सकियोस्’, लेखेकले भने।
उनले एकै पटक जिल्लाभर नभए पनि एउटा जिल्लाको दुई, तीन वटा पालिकालाई लागूऔषध मुक्त पालिका बनाउने गरी अभियान गर्न सकिने जनाए।
‘पालिकाका स्कुल, क्याम्पस, युवा क्लव, राजनीतिक दल, भ्रातृ संस्था, शुभेच्छुक, विद्यार्थी संगठनहरुलाई संलग्न गरौँ र एउटा पालिकालाई ६ महिनामा लागूऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाऔँ। समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी छ’, गृहमन्त्री लेखकले भने।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागूऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको जनाए।
उनले लागूऔषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य रहेको जनाए।
विश्वमा करिब ३० करोड र एशियामा मात्रै करिब ६ करोडको हाराहारीमा लागूऔषध सेवन कर्ताहरु रहेको महानिरीक्षक कुँवरले जानकारी गराए।
जसमध्ये गाँजा र सोबाट निर्मित लागूऔषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको उनको भनाइ छ।
लागूऔषध सम्बन्धी देशभर दर्ता भएका मुद्दाहरु प्रत्येक आर्थिक वर्षमा करिव ७ प्रतिशतको हाराहारीमा बढ्दो अवस्थामा रहेको पनि उनले जानकारी गराए ।