काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा बहस सकिए पश्चात राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मा लगाइएको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासले भोलि उपस्थित गराउने शर्तमा लामिछानेलाई जिम्मा लगाउन आदेश दिएको सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।
लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए । उनको बहस सकिएको छ । अब योगीकै इजलासमा भोलिदेखि थुनछेक बहस हुनेछ ।