पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई अभियोग दायर गर्न जिल्ला अदालत कास्की लगिएको छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दायर गर्नलाई अदालत पुर्याइएको हो।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वगृहमन्त्री लामिछानेसँगै ५ जनाविरुद्ध अभियोग दर्ता गर्दैछ।
कास्की प्रहरीको हिरासतमा रहेका गोरखा मिडिया नेटवर्कमा रविका व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई, नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङविरुद्ध अभियोग दर्ता हुनेछ।
अहिलेसम्म अभियोग दायर नभएको अदालत स्रोतले बताएको छ। आज अभियोग दायर भएपनि बयान लिने सम्भावना कम रहेको छ। ‘आजको गोला भइसकेको छ। सामान्यता आज दिनभर दायर भएका अभियोगको भोलिपल्ट वयान लिने प्रचलन छ’, स्रोतले भन्यो।
सरकारी वकिलको कार्यालयले शुक्रबार सूर्यदर्शनका पूर्वअध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग पत्र दायर गरेको छ।
गत सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडिआइजी जोशीसहित ५१ जनालाई प्रतिवादी बनाएर कारबाहीको सिफारिससहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रहरीको रायअनुसार एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।
पूर्वगृहमन्त्री लामिछाने कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका थिए। उनलाई कात्तिक ३ गते बिहान पोखरा ल्याइपुर्याइएको थियो।


