काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटिएका उद्योगहरूको विद्युत लाइन जोडिदिने भएको छ।
बुधबार पत्रकार सम्मेलनमार्फत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कानुन अनुसार मन्त्रिपरिषद् बैठकको निर्णय मान्न प्राधिकरण बाध्य भएकाले विद्युत लाइन काटिएका २८ वटा उद्योगहरूको लाइन जोडिदिने बताए।
उनले भने, ‘नेपाल विद्युत प्राधिकरण ऐन २०४१ अनुसार प्राधिकरणको अहिलेको संचरना बनेको हुनाले सरकारको आधिकारिक निर्णय हामीले मान्नुपर्छ र काटिएका लाइन जोड्ने कुरा यहाँहरूलाई अवगत गराउँछु।’
लामो समयदेखि महसुल नबुझाएका २८ वटा उद्योगलाई महसुल बुझाउन पटक-पटक ताकेता गरे पनि ती उद्योगहरूले महसुल नबुझाएको उनले जनाए।
उनले भने, ‘लाइन जोडिदिएर अब हामी बक्यौता उठाउन लाग्छौं। सरकारले १५ दिनभित्रमा बक्यौता तिर्न र हाललाई लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिएको छ।’
बक्यौता महसुल नबुझाएका उद्योगहरूमाथि कानुनी रुपमा गरिएको कारबाहीबाट मन्त्रिपरिषद् बैठकको निर्णयपछि प्राधिकरण पछि हटेको उनले जनाए। १५ दिन भित्र बक्यौता नतिरे पुनः लाइन काटिदिने उनले जनाए।