काठमाडौं । कालिकोट, पलाता गाउँपालिका-३ राडु भन्ने स्थानमा क.१ ज ५६ नम्बरको डबल क्याप बोलेरो गाडी अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार १३ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेततर्फ पठाइएको छ ।
सिराहा, कर्जन्हा नगरपालिका-२ बिश्वकर्मा मन्दिरस्थित सडकमा प्र.२-०३-००१ त १५१८ नम्बरको ट्याक्टरमा ज.४ प ५८४५ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ दिवारथान बस्ने ४५ वर्षीय प्रदिप यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल बन्दिपुर हुँदै गोदाबरी अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार प्रदिपको श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


