-लोकनारायण सुबेदी
माक्र्सबादी दर्शन, चिन्तन र चरित्रलाई अनुग्रहण गर्ने तथा त्यसबाट अनुप्राणित हुँदै त्यसलाई अनुशीलन गर्ने कमरेड पुष्पलालको प्रगतिशील राजनीतिक यात्राले उहालाई प्रगतिशील दर्शन र चिन्तनधाराको दिशामा अग्रसर गराउँदछ । यसरी उहाँको दृष्टिकोण स्वाभावतः द्वन्द्वात्मक भौतिकबादी दर्शनमा आधारित हुन पुग्दछ । त्यसै आधारमा उहाले समाज र प्रकृतिलाई तिनको निरन्तर गत्यात्मकता र परिबर्तनलाई हेर्ने, केलाउने र सही सश्लेषणमा पुग्ने गर्नु हुन्थ्यो । यसरी उहाँले जीवन र जगतलाई हेर्ने दृष्टिकोण प्रगतिबादी, अग्रगामी र परिबर्तनमुखी दर्शनमा आधारित थियो र हो । उहाँको जन्म शत बार्षिकी सन्दर्भमा दर्शनका क्षेत्रमा उहाँले ध्यान दिएका महत्वपूणर् कुराहरु हेर्दा उहाँले ग्रहण गरेको दर्शनमा निम्न महत्वपूणर् तथ्य र निष्कर्श रहेको हामी पाउँदछौं ः
संसार अर्थात- जीवन र जगतलाई हेर्ने, बुझ्ने, र ब्याख्या गर्ने र फेर्ने दृष्टिकोण नै दर्शन हो । यसलाई प्रकृति र मानब समाजलाई हेर्ने सुक्ष्म आँखा पनि भनिन्छ । यसले हरेक बस्तु र घटनाहरुलाई हेर्ने, जाँच्ने, बुझ्ने र त्यस अनुरुप आफ्नो धारणा बनाउने र जीवन ब्यबहारलाई निर्धारण गर्ने गर्दछ । दर्शनलाई कार्ल माक्र्सले हरेक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व र सँस्कृतिको जीवन्त आत्मा हो भनेका छन् । तर यसलाई रुढ रुपमा बुझिनु हुन्न यो गत्यात्मक हुन्छ र दर्शनले संसारको ब्याख्या मात्र गर्ने होइन यसले संसारलाई बदल्ने बाटो देखाउँदछ भनेका छन् । त्यसैले उनले दार्शनिकहरुले अहिलेसम्म संसार यस्तो छ उस्तो छ भनेर ब्याख्या मात्र गरे तर दर्शनको मूख्य काम त यो संसारलाई बदल्नु हो भनेर दर्शनको प्रयोजनीयतको दिग्दर्शन गराए ।
दर्शनको इतिहास हेर्दा अहिलेसम्म यो ग्रीक भाषाको प्रेम र बिबेक अर्थात फिलो(उजष्यि) र सोफिया(कजयउजष्ब) बाट अग्रेजीमा फिलोसफी भनेर दर्शन शब्दको बनेको देखिन्छ । दर्शनको बिकास पच्चिस सय देखि तीन हजार बर्ष अघि यूनानबाट भएको मानिएको छ । यसको प्रथम प्रयोगकर्ता गणितशास्त्री पाइथागोरस मानिन्छन् ।
आदर्शवादी दर्शनको जन्मदाता प्लेटो हुन्। त्यसरी नै थेल्स प्रथम प्रकृतिवादी युनानी दार्शनिक थिए। यसअन्तर्गत हेराक्लिट्स, पाइथागोरस र डेमोक्रेट्स लगायतका दार्शनिकहरु पर्दछन्। हेगेल आध्यात्मवादमा आधारित द्वन्दवादी दार्शनिक थिए भने फायरवाख अधिभूतवादी भौतिकवादी दार्शनिक थिए ।
मार्क्सभन्दा अघि थोमस मेन्जर, थोमस मोर, सेन्ट साइमन, चाल्र्स फुरियर, रोवोर्ट ओवेन लगायतका काल्पनिक समाजवादी र मानवतावादी दार्शनिकहरु देखापरेका थिए। पछिल्ला प्रसिद्ध जर्मन शास्त्रीय दार्शनिक हेगेल र फायरवाखको एकलकाटे द्वन्दवाद र भौतिकवादलाई जोडेर या मिलाए(फ्युजन गरेर ) कार्ल मार्क्सले द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको आविश्कार गरे। द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन सर्वहारा वर्गीय दर्शन हो।
दर्शनको क्षेत्र – जीवन र जगतको अन्तरसम्वन्ध, पदार्थ र चेतनाको अन्तरसम्वन्ध, प्रकृति र समाजलाई सञ्चालन गर्ने चालक नियमहरुको अध्ययन नै दर्शनको क्षेत्र हो। प्रकृति र मानव समाज एवं चिन्तनका अधिशासित नियमहरु, पदार्थ र चेतना विचको अन्तरसम्वन्धका क्षेत्रहरु र सत्य वा यथार्थ वास्तविकताको ज्ञान एवं जीवन र जगतको विकास वा परिवर्तनका नियमहरुको समग्र पक्ष नै दर्शनको क्षेत्रभित्र पर्दछ।
बस्तु जगतमा दर्शनको भूमिका – मानिसलाई साँचो कुरा बुझ्न, सही दृष्टिकोण वा धारणा निर्माण गर्न, मानव समाज रुपान्तरणको लागि मार्गदर्शन गर्न, चिन्तनका आम नियमहरु लागू गर्न, पदार्थ र चेतनाको अन्तरसम्वन्धको अध्ययन गर्न र समाजको वास्तविकता वोध गर्न दर्शनको महत्वपूणर् भूमिका हुन्छ। सर्वहारा वर्गीय दर्शनले संसारलाई बुझ्न, व्याख्या गर्न र बदल्न सम्भव तुल्याउँछ।
दर्शनका मौलिक प्रश्न – चिन्तन र सत्ताको सम्वन्धको प्रश्न दर्शनशास्त्रको मौलिक प्रश्न हो। पदार्थ र चेतनामध्ये कुन प्राथमिक हो भन्ने बहस नै दर्शनको मूख्य प्रश्न हो। जीवन र जगत वोधगम्य छ कि छैन भन्ने प्रश्न दर्शनको दोस्रो महत्वपूणर् प्रश्न हो। आदर्शवादले विश्व अज्ञेय भएको निष्कर्ष निकाल्छ भने भौतिकवादले विश्व वोधगम्य भएको निष्कर्ष निकाल्छ। पदार्थ र चेतनाको प्राथमिकतामा रहेको बहस र जगतको वोधगम्यताबारे विवाद नै अहिलेसम्मको दर्शनका मूल प्रश्न हुन्।
दार्शनिक सिद्धान्तहरु दुइ खालका छन् -आदर्शवादी र भौतिकवादी । यी दुइ सिद्धान्तका बीचमा हुने बहसले नै दर्शन र मानव समाजलाई दुइ वर्गमा वर्गीकृत गर्दछ। आजसम्मको मानव समाजको सम्पूणर् इतिहास दुइ बर्ग दृष्टिकोण बीचकै बहस र सङ्घर्षको उपज हो।
यो संघर्षमा आदर्शवादी वा आध्यात्मवादी दर्शनले- विश्व व्रम्हाण्ड ईश्वर, परमात्मा वा अदृश्य शक्तिबाट पैदा भएको, चेतना वा आत्मालाई सृष्टिको आदितत्व तथा पदार्थको अस्तित्व निर्धारक स्वीकार गर्ने साथै संसारलाई बुझ्न नसकिने र अपरम्पार ठान्ने गर्दछ। यसले जीवन र जगतलाई अलौकिक शक्तिको उपज र अपरिवर्तनशील एवं अज्ञेय मान्दछ।
भौतिकवादी दर्शनले – पदार्थलाई सृष्टिको आदितत्व तथा चेतनालाई पदार्थको विशिष्ट गुण मान्ने र संसारलाई बुझ्न, विश्लेषण गर्न र बदल्न सकिन्छ भन्ने मान्दछ । भौतिकवादी दर्शनले पदार्थलाई निणर्ायक मान्दछ, जीवन र जगतलाई बुझ्न सकिने र त्यसका लागि वैज्ञानिक अनुसन्धान गर्नुपर्ने मान्यतामा विश्वास राख्दछ। यसले सम्पूणर् भौतिक वस्तुहरु गतिशील रहेका हुन्छन् भन्ने मान्दछ ।
यी दुइ दर्शनका बीच ठूलो अन्तर छ । आदर्शवादले चेतना पहिलो वा प्राथमिक, चेतनाले स्वयं अस्तित्व निर्धारण गर्ने मान्यता राख्दछ। यसले संसारलाई जान्न नसकिने अज्ञेय ठान्दछ। ईश्वरलाई सर्वशक्तिमान, निराकार, नित्य, अविनाशी र सर्वव्यापी भएको मान्दछ। आदर्शवादका दृष्टिमा ज्ञान ईश्वरबाट प्राप्त हुन्छ। यस प्रकार आदर्शवादले मानव संसार ईश्वरको रचना हो, आत्मा अमर रहन्छ, जीवनको पूर्व जन्म र पुनर्जन्म हुन्छ, धर्मशास्त्रमा लेखिएका कुराहरु सत्य हुन् भन्ने ठान्दछ । यसरी यो दर्शन यथास्थितिबादी बिचार र प्रतिक्रियावादी वर्गको वर्गहितको रक्षा गर्ने दर्शन हो।
भौतिकवाद दर्शनले आध्यात्बादी दर्शनको ठीक बिपरित पदार्थ पहिलो वा प्राथमिक हो र पदार्थबाटै चेतनाको निर्माण वा विकास हुने मान्यता राख्दछ। भौतिकवादी दर्शनका दृष्टिमा संसार वोधगम्य वा ज्ञेय छ, ईश्वर कल्पना हो, अलौकिक र अदृश्य शक्ति छैन, ज्ञानको श्रोत व्यवहार हो, समाज वस्तुगत जगतको विकासको परिणाम हो भन्ने मान्यता प्रष्टसँग दर्शाउँदछ । यसले विज्ञानमा विश्वास गर्दछ, पूर्वजन्म र पुनर्जन्म हुँदैन, ईश्वर, धर्मजस्ता मान्यता शोषणमा आधारित शासक वर्गले आफ्नो हितको रक्षार्थ खडा गरेका हतियार मान्दछ। भौतिकवाद सर्वहारा वर्गको दर्शन हो।
दर्शन कहाँबाट जन्मिन्छ – माओत्सेतुङका अनुसार दर्शन सामाजिक व्यवहारबाट जन्मिन्छ। मानिसले जीवनयापनका क्रममा प्रकृतिसँग सङ्घर्ष गर्दछ, मानव जीवनमा उत्पादनका निम्ति गरिने सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगका क्रममा नै ज्ञानको विकास हुन्छ। ज्ञानको आधुनिक र उच्चतम् रुप नै दर्शन हो। हाम्रा सम्पूणर् आर्थिक सामाजिक गतिविधिहरुको संश्लेषण नै दर्शन हो।
माओत्सेतुङले दर्शन अघाएकाहरुबाट होइन, भोकाहरुबाट जन्मिन्छ भनेका छन्। अघाएकाहरुसँग सङ्घर्षको भोक जाग्दैन, तृप्तिले ज्ञानको ढोका बन्द गरिदिन्छ। तसर्थ, मानिस जीवन सङ्घर्षका क्रममा गर्ने सामाजिक व्यवहारबाट नै दर्शनको विकास हुन्छ। माओले थप्दै भनेका छन्, ‘दर्शन दरबार र महलहरुबाट होइन, झुपडीहरुबाट जन्मिन्छ। श्रमिक-किसान नै त्यस्तो वर्ग हो, जसले आधुनिक समाजको सिर्जना गर्दछ, त्यस क्रममा प्राप्त हुने व्यवहारिक ज्ञानको संश्लेषण नै दर्शन हो।
यी दुइ दर्शनका बीचको प्रष्ट भिन्नता र मर्म बुझ्नु भएका कामरेड पुष्पलालले द्वन्द्वात्मक भौतिकबादी दर्शनको अबलम्बन गर्नु भयो र त्यसै अनुरुप जीवन र जगतको अध्ययन गर्दै नेपाली समाजको ब्याख्या र बिश्लेषण गर्न पनि यो दर्शनलाई आधार बनाउनु भयो । नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभन्दा पहिला बिश्व प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’को नेपालीमा अनुबाद गर्दै गर्दा त्यसको पृष्ठभूमि या भूमिका लेख्दा होस् यो ‘नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र’ लेख्दा होस् या नेपाली जन आन्दोलनको समीक्षा गर्दै ‘नेपाली जन आन्दोलन ः एक समीक्षा’ लेख्दा या ‘नेपालमा मातृसत्तात्मक समाज’ नामको सानो पुस्तिका लेख्दा होस् या ‘नेपालको सर्बेक्षण’ बारे लेख्दा या ‘समाजशास्त्रीय फूटकर शब्दहरुको ब्याख्या’ गर्दा होस् उहाले यही द्वन्द्वात्मक भौतिकबादी दर्शनलाई आधार बनाएको देख्न सकिन्छ । अनि ‘नयाँ जनवादी साँस्कृतिक संघको घोषणापत्र× या अखिल नेपाल किसान संघको घोषणपत्र’ लेख्दा प्रगतिशील बुद्धिजीवीको कत्र्तब्य सम्बन्धि लेख या बुद्धिजीवी सम्मेलनमा सम्बोधन गर्दा होस् द्वन्द्वात्मक भौतिबादलाई नै उहाँले अनुशीलन गर्नु भएको छ । यसरी उहाँ नेपालमा पहिलो द्वन्द्वात्मक भौतिकबादी दर्शनको ब्याख्याता तथा अग्रज अनुशलनकर्ताकोरुपमा खडा हुनु भएको प्रष्ट छ ।