काठमाडौं । न्याय परिषदले आफूसँग समन्वय नगरी उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न खोजेको भन्दै नेपाल बार एशोसिएसनले विरोध गरेकाे छ।
यही असोज २० गतेदेखि अवकाशमा जान लागेका प्रधानन्याधीश तथा न्याय परिषदका अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार दिउँसो १ बजे बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेपछि बारले प्रतिरोध गरेको हो ।
बारले न्याय परिषदको बैठक चलिरहँदा बैठकबाहिर धर्ना दिने भएको छ। नेपाल बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले बारसँग समन्वय नगरी न्यायाधीश सिफारीस गर्नु आपत्तिजनक रहेकाले डटेर सामना गर्ने बताए।
घिमिरेले न्याय परिषद् नियमावली संशोधनको सन्दर्भमा भएको विवाद समाधान नगरी अवकाशमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश सिफारिस गर्नु उचित नहुने बताए। उनले देश सञ्चारसँग कुरा गर्दै भने, ‘नियमावली संशोधनको विवाद थाँती राखेर गर्न लागिएको न्यायाधीश सिफारिस रोकिनुपर्छ। हामी परिषद बैठक बाहिर धर्ना दिँदै छौँ।’

