काठमाडौं । सुनको मूल्यले केही दिनदेखि नै नयाँ रेकर्ड बनाउँदै बढिरहेको छ । बुधबार पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ ।
यतिबेला सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै उच्च दरले बढेपछि नेपालमा प्रभाव परेको हो । ‘दशैं, तिहार वा यहाँका अरु चाडपर्वसँग सुनको कुनै सम्बन्ध हुँदैन, अन्तर्राष्ट्रिय बजारमै भाउ बढेपछि यहाँ बढेको हो’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने ।
‘अन्तर्राष्ट्रिय स्तरमा द्वन्द्व बढ्दा सुनको मूल्य बढ्दै गयो, ती द्वन्द्व अहिले पनि कायमै छन्,’ शाक्यले भने, ‘त्यसमा पनि विश्वका केन्द्रीय बैंकहरूले सुन भण्डारण बढाए, अहिले अमेरिकाले ब्याजदर घटाउँदा फेरि लगानी पनि सुनतिरै मोडियो ।’