काठमाडौं । कञ्चनपुर, भिमदत्त नगरपालिका-१२ एरीघाटस्थित महाकाली नदीले बगाएर सोही ठाउँ बस्ने १८ वर्षीय सौरभ दमाईको शनिबार मृत्यु भएको छ ।
नदी किनारामा दाउरा निकाल्ने क्रममा सौरभ र सोही ठाउँ बस्ने राम दमाईको छोरा १५ वर्षीय अभी दमाईलाई नदीले बगाई वेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गड्डाचौकी, इलाका प्रहरी कार्यालय दोधारा समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा भिमदत्त नगरपालिका-१३ झुलुङगे पुल नजिक सौरभको शव फेला परेको हो ।
बेपत्ता भएका अभीको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-३ चौरी बस्ने धन्या भुलकी छोरी १४ वर्षीया लक्ष्मी भुलको सोही ठाउँस्थित चौधर नदीमा नुहाउने क्रममा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।
रौतहट, मौलापुर नगरपालिका-८ सोनरनिया बस्ने देवदिप यादवको छोरा ८ वर्षीय मोल यादवको आफ्नै खेत नजिकै रहेको कुलोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको वीरगंजस्थित तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा, जनकपुर उपमहानगरपालिका-२१ स्थित सार्वजनिक खत्तर पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने जितु महराको छोरा ४ वर्षीय अमित महराको शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।