काठमाडौँ / यु–२० साफ च्याम्पियनसिप फुटबलमा आयोजक नेपाल फाइनल प्रवेश गरेको छ। आइतबार सातदोबाटोस्थित एन्फा क्म्प्लेक्समा भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाइनल पुगेको हो।
निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जहाँ नेपालका गोलरक्षक जियारथ शेखले भुटानका दुई पेनाल्टी प्रहारलाई बचाउँदै टिमलाई फाइनलमा पुर्याए।
त्यसअघि खेलमा भुटानले नेपालविरुद्ध अग्रता बनाएको थियो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमै भुटानले अग्रता लिएको थियो। भुटानका लागि ५६ औँ मिनेटमा जेत्सुन दोर्जेले डिबक्सबाहिरबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत हुँदा नेपाली युवा टिम १–० ले पछि परेको थियो।
तर, भुटानी खेलाडी ७७ मिनेटमा १० खेलाडीमा सीमित भएको मौकामा नेपालले बराबरी गोल गरेको थियो। आकर्षक पुनरागमन गर्ने क्रममा नेपालका लागि निराजन धामीले बराबरी गोल गरेका थिए। किंग्जन तेन्जाङ दोहोरो पहेलो कार्डका कारण मैदान छाडेका थिए। उक्त मौकामा नै पाएको फ्रि–किकको अवसरमै नेपालले बराबरी गर्न सफल भयो। नेपालका लागि निराजन धामीले गोल गर्दै बराबरी गरेका थिए। त्यसअघि दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए।
बराबरीपछि दुवै टिमबाट थप गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ नेपालले ३–१ ले खेल आफ्नो पक्षमा पार्यो।

