काठमाडौं । करिब ३ सय २१ वर्षअघि पुरानो बाघ भैरवको मूर्ति पुन: बनाएर कीर्तिपुरबासीलाई हस्तान्तरण गरिएको छ ।
शुक्रबार ललितपुरमा करिब १ वर्षको समय लगाएर ल्हामो ह्याण्डीक्राफ्टले बनाएको बाघ भैरवको उक्त मूर्ति बाजागाजासहित कीर्तिपुर बासीलाई हस्तान्तरण गरिएको ल्हामो ह्याण्डीक्राफ्टका मूर्तिकार राजु महर्जनले जनाए ।
उनका अनुसार ३ फिट उचाइ रहेको बाघ भैरवको यो मूर्तिलाई १५/२० जनाको कालिगढले तयार गरेका हुन् । बाघ भैरवको मूर्तिलाई गुंदे दपा खलबाट करिब २ सय ५० जनाको समूले नेवाः परम्परा अनुसार साँस्कृतिक बाजागाजासहित हस्तान्तरण गरिएको उनले जनाए । यस्तै कीर्तिपुरमा रहेको बाघ भैरवको मन्दिर जीर्णोद्वार गरेको ११ वर्षपछि मूर्ति मन्दिरमा प्रतिस्थापन गर्न लागिएको बाघ भैरव मन्दिरका सदस्य सचिव शुद्ध महर्जनले जनाए ।
उनका अनुसार ‘बाघ भैरवको यो मूर्ति नेपाल संवत ८ सय २३ स्थापना भएको जानकारी गराउनु भयाे । त्यसपछि यो मूर्ति विस्तारै विलुप्त भइसकेकाले पुन: शिलालेख अनुसार बनाउन लगाएका हौ। आज विधिपुर्वक पूजा गरी प्रतिस्थापन गर्छौं।’ उनका अनुसार बाघ भैरवकै मन्दिरमा हाथु भैरवको पनि मूर्ति अर्को वर्ष बनाएर राख्ने तयारी भइरहेको छ ।
बाघ भैरवको मुर्ति ललितपुरबाट लिएर मन्दिरको सतलमा राखिएको छ । विधि आज भाद्र १ गते पूजा गरेर मूर्ति स्थापना गरिने जनाए ।


