काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले) बहुदलीय व्यवस्था समाप्त गरी दुई दलीय व्यवस्था स्थापना गर्न लागेको जनाएका छन्।
पार्टीले काठमाडौंमा बिहीबार गरेको जिल्ला अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै उनले २००७ साल, २०४६ साल र २०६२/०६३ सालको आन्दोलनको नेतृत्व गरेको दाबी गर्ने दलहरू नै बहुदलीय व्यवस्था समाप्त पार्ने कुरा गर्दै हिँडेको जनाए ।
‘२००७ सालको आन्दोलनमा पनि हाम्रो भूमिका थियो। २०४६ साल पनि हामीले नै ल्याएको हो, २०६२/०६३ पनि हामीले नै गरेको हो भनेर डङ्का पिट्ने र हामीबिना आन्दोलन सफल हुने थिएन भन्ने कांग्रेस र कम्युनिष्ट पार्टीहरूले प्रजातन्त्र, बहुदलीय व्यवस्था र समावेशी समानुपातिक व्यवस्थामाथि उनीहरूले खुलेआम चुनौती दिन थालेका छन्,’ लिङ्देनले भने। कांग्रेस र एमालेले बहुदलीय व्यवस्था अन्त्य गरेर दुई दलीय व्यवस्था स्थापनाका कुरा गर्ने गरेको पनि जनाए।
‘अरू दल, नागरिक समाज सबैले खबदारी गर्दा त कांग्रेस र एमालेको यो प्रकरणको विकृति छ, यी दुई पार्टीमात्रै भएको देश कस्तो हुन्छ त?’ उनले प्रश्न गरे। उनले अधिनायकवादी र सर्वसत्तावादी सोचविरूद्ध राप्रपा उभिने बताए। उनले राप्रपाको शक्ति बलियो बनाउनुपर्नेमा पनि जोड दिए।


