राजविराज । प्रहरीद्वारा पक्राउ परेका सप्तरीका मिटर व्याजी रामदेव साहका श्रीमती शिव कुमारी साहलाई कडा कारवाहीको माग गर्दै पीडितहरुले आइतबार सप्तरी जिल्ला अदालत अगाडी प्रदर्शन गर्दै धर्ना दिएका छन् । मिटर व्याज पीडित संघर्ष समिति सप्तरीका अध्यक्ष मो.तैयवको अगुवाईमा नगरमा प्रदर्शन र अदालत अगाडी धर्ना दिइएको हो ।
सप्तरीको खडक नगरपालिका निवासी मिटर व्याजी रामदेव साहका श्रीमती शिव कुमारी साहलाई कडा सजाय दे, रामदेव साहको परिवारले हड्पेको जग्गा निसर्त फिर्ता गर, रामदेव साहलाई पक्राउ गरी कारबाही गर लगायतका नारा उल्लेखीत प्लेकार्डसहित नगर परिक्रमा पश्चात् पीडितहरुले विहान १० बजेदेखि जिल्ला अदालत अगाडि शान्तिपुर्ण प्रदर्शन सहित धर्ना दिएका छन् ।
मिटर ब्याजी रामदेव साह हालसम्म फरार छन् । प्रहरीले केही महिनाअघि उनका छोरा र छोरीलाई पक्राउ गरेका थिए । ती दुबै जना मध्ये छोरी अनुराधा विराटनगर र छोरा नन्दकिशोर पूर्पक्षका लागि अहिले राजविराज कारागारमा छन् । पछिल्लोपटक उनका श्रीमती शिवकुमारीलाई पनि प्रहरीले धरानबाट पक्राउ गरेको छ ।
धरानबाट असार २६ गते पक्राउ परेकी साहको जिल्ला अदालतमा आइतबार थुनछेक बहस चलिरहदा पीडितहरुद्वारा बाहिर धर्ना र प्रदर्शन गरिएको हो ।
पक्राउ परेका साहमाथी पनि कडा कारवाही हुनुपर्ने आफूहरुको मुख्य माग रहेको संघर्ष समितिका अध्यक्ष मो. तैयवले जनाए ।
रामदेव साह र उनको परिवार विरुद्ध २०७८ सालमा ठगी अपराधिक तथा बिश्वासघात मुद्दा ईलाका प्रहरी कार्यालय कल्याणपुरमा दर्ता भएको थियो । यसअघि २०७९ साल जेष्ठ २६ मा साहका छोरा नन्दकिशोर धरानबाट र २८ गते छोरी अनुराधा पक्राउ परेकी थिइन ।


