काठमाडौं । ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा अब उरुग्वेले कोलम्बियाको सामना गर्नेछ । अर्को सेमिफाइनल खेल भने अर्जेन्टिना र क्यानडाबीच हुनेछ ।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल नभएपछि उरुग्वेले ब्राजिललाई पेनाल्टीमा ४-२ ले हराएको हो । ब्राजिलका इडेल मिलिटाओको प्रहार उरुग्वेका गोलरक्षक सर्जियो रोचेतले बचाएका थिए । त्यस्तै डि पाउलो डग्लासको प्रहार भने गोलपोस्टमा लागेको थियो ।
उरुग्वेका जोसे मारियाको प्रहार ब्राजिली गोलरक्षक एलिसन बेकरले बचाए पनि जितका लागि पर्याप्त भने भएन । यसअघि नहिटान नान्डेजले ७४औं मिनेटमा रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सीमित भएको थियो ।
