पेरिस । जलवायु परिवर्तनसँगै विश्वभर गर्मी बढेको छ । यससँगै जङ्गलमा आगलागीको प्रकोप फैलिएको छ । टर्कीए, क्यानाडा, ग्रीस र संयुक्त राज्य अमेरिकाको जङ्गलका धेरै भागमा आगलागी भइसकेको छ ।
हालैका वर्षहरूमा अगलागी नियन्त्रणका लागि अतिरिक्त स्रोत प्रयोगमा ल्याइएपनि योजना र तयारी पर्याप्त नभएको विज्ञहरूले बताएका छन् ।
‘मौसमी अवस्थासहित धेरै कारकको अध्ययनअनुसार आगलागीको परिणाम कति नराम्रो हुन्छ भनेर भविष्यवाणी गर्नु वा कहाँ र कहिले विपद् निम्तिन्छ भनी आकलन गर्नु चुनौतीपूर्ण हुन सक्छ,’ आगलागीका घटनाको आवृत्ति र तीव्रताको जाँच गर्ने लेखक डोएर भन्छन्, ‘तर समग्रमा जङ्गलमा आगलागी ठूलो हुँदै गइरहेको छ र अझ गम्भीर रूपमा बढिरहेको छ ।’ जुनमा प्रकाशित एउटा छुट्टै अध्ययनका अनुसार जङ्गलमा लागेको आगोको आवृत्ति र परिमाण विगत २० वर्षमा दोब्बर भएको देखिन्छ ।
संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको सन् २०२२ को प्रतिवेदनअनुसार शताब्दीको अन्त्यसम्ममा विश्वभर चरम जङ्गली आगोको सङ्ख्या ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ। डोएरले मानव समुदायले अहिलेसम्म यो वास्तविकताको सामना नगरेको बताए । ‘हामी अहिले सामना गरिरहेका अवस्थाका लागि स्पष्ट रूपमा तयार छैनौँ । भूमि प्रयोग र आवास विकासजस्ता अन्य कारकहरूले यस अवस्थाका लागि ठूलो भूमिका खेल्ने भएता पनि जलवायु परिवर्तन एक प्रमुख चालक हो,’ उनले भने ।