काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छाउपडीसम्बन्धी अछाम घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको र निजलाई म्याद थप गरी थुनामा राखी अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा अछामको छाउपडी गोठमा घटेको घटनाका सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले पीडित र पीडक पक्ष दुवैको बयान अनुसार घटनामा एकजनाको मात्र संलग्नता रहेको खुल्न आएको जानकारी दिए।
उपप्रधानमन्त्री लामिछानेले महिला तथा बालबालिकाविरुद्ध हुने कुनै पनि हिंसा वा अपराधका घटनाहरूमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन गरेको र पीडितको न्याय प्राप्त गर्ने संवैधानिक हकको संरक्षण एवं कार्यान्वयनका लागि गृह मन्त्रालय र मातहत प्रशासन थप संवेदनशील रहेको जनाए।
यस घटनाको संवेदनशीलतालाई मध्यनजर गरी मन्त्रालयले स्थानीय प्रशासनबाट भए-गरेका कार्यहरूको दैनिक प्रतिवेदन लिने तथा नियमित सुपरीवेक्षण गरिरहेको जानकारी दिए।