काठमाडाैं । भाेलि शुक्रबारदेखि पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको जीवनीमा आधारित कथानक चलचित्र ‘आचार्य’ को प्रिमियर गरिएको छ।
बुधबार साँझ गरिएको प्रिमियरमा राजनीतिक दलका नेतादेखि फिल्मकर्मी, संगीतकर्मी तथा सञ्चारकर्मीले फिल्म हेरेका छन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, रास्वपा सांसद सोबिता गौतम, वरिष्ठ संगीतकार शम्भुजित बासकोटा, संगीतकार चेतन सापकोटा, गायकहरू ओम बिक्रम बिष्ट, यम बराल, नबिन के. भट्टराई, धिरज राई, शिव मुखिया, गायिकाहरू मीरा राणा, आनी छोइङ डोल्मा, निशा देशार, प्राश्ना शाक्य, अभिनेता सुनील थापा, कवि विप्लव प्रतीक, भुपेन्द्र खड्कालगायत प्रिमियरमा सहभागीता जनाएका थिए ।
चलचित्र हेरेरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिकांशले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए। संगीतमा लाग्ने जोसुकै व्यक्तिले ‘आचार्य’ हेर्नुपर्ने धारणा धेरैले राखेका थिए।
भजन शिरोमणि आचार्यका जेठा छोरा गायक सत्यराज आचार्यको अभिनयको समेत तारिफ गरिएको छ। १३ वर्षअघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले चलचित्रकाे पुनः प्रदर्शन गर्न लागेको हो।
यसपटक प्रदर्शन हुने चलचित्रमा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिएको छ। चलचित्रमा सत्यराजका साथमा अरूणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपीन कार्की लगायतको अभिनय छ।