लोकनारायण सुबेदी
बुद्धले जुन ज्ञानको गंगा बगाएका छन् त्यो कुनै एउटा देशका लागि मात्र नभएर बिश्व मानब कल्याणका निमति थियो र हो । आजभन्दा २५६८ बर्षपहिले अर्थात् इशा पूर्ब ४५६ इस्वीमा नेपालको कपिलबस्तु जिल्लामा पर्ने शाक्य गणतन्त्रमा जन्मेका राजा शुद्धोधनका छोरा सिद्धार्थ गौतम आफ्नो ज्ञान, बिवेक र बुद्धिको बलले पछि सिद्धार्थ गौतम बुद्ध बने । बिश्वमा समग्र सामाजिक हित, समानता र न्यायको निम्ति राज महलको सुखशयल, बिलाश र बैभवको त्याग गर्न अघि सरेका ती ऊर्जाशील यूवा महात्मा गौतम बुद्ध जस्ता राजकुमारहरु बिश्व इतिहासमै नगन्य होलान् । त्यो पनि आजभन्दा दुइ हजार पाच सय छैसठ्ठी बर्षअघि ।त्यस्तै बिरलाकोटीका राजकुमार थिए सिद्धार्थ गौतम जसले २४ बर्षकोखाउँखाउँ–लाउँलाउँको यूवा उमेरमै त्याग, समर्पणर परिवर्तनको कठिन बाटो अबलम्बन गरे । रुढीबादी अन्धबिश्वासमा जकडिदै गएको र सन्दर्भहीन कर्म काण्डको बिकृति र बिसंगतिमा फसेको कठमूल्लावादी कट्टर हिन्दूबादी समाजमा आमूल परिवर्तन ल्याउन उनले अथक र निरन्तर कोशिश गरे । त्यस क्रममा उनले त्यतिबेला प्रचलित मीठो भए पनि बुझन कठिन सँस्कृत भाषालाई छोडेर सर्ब साधारणले बुझने पाली भाषा(जुन आज प्रायः लोप नै भइसकेको छ) मा आफ्ना बिचार र अबधारणहरु प्रस्तुत गरे । उनले प्रस्तुत गरेका ग्रन्थहरुमध्ये त्रिपिटक सबैभन्दा ठूलो र महत्वपूर्ण ग्रन्थ मानिन्छ ।
सिध्दार्थ गौतमले आरम्भिक शिक्षा बिश्वामित्रबाट पाएका थिए । उनले त्यतिबेला बेद, पुराण, उपनिषदहरुको गम्भीर अध्ययन गरे । त्यस बाहेक उनले युद्ध कलाको ज्ञान पनि लिए । तीर हान्ने, घोडा दौडाउने, कुस्ती खेल्ने जस्ता सीपहरु समेत त्यस बेला उनले सिके । हुन पनि त्यसबेला बुद्ध जत्तिको सिपालु रथ हाँक्ने अरु कोही थिएनन् भनिन्छ । यसरी राजकुमार हुर्कदै गएर १६ बर्षको भए पछि उनको बिवाह शाक्य कन्या यशोधरासँग सम्पन्न गरिएको थियो । आफ्ना पिता शुद्धोधनले ऋतु अनुरुप निर्माण गरेको भब्य र बैभवशाली राजदरबारमा पत्नी यशोधरासँग जीवन सिद्धार्थले गुजार्न थाले । उनलाई एक पुत्र पनि प्राप्त भयो जसको राहुल नामाकरण गरियो । सिद्धार्थ गौतम २० बर्षको भए पछि तत्कालीन शाक्य संघको सदस्य समेत भए । यसरी संघको कार्यमा बहुतै रुचीपूर्बक समर्पित र दत्तचित भएर लागेका सिद्धार्थ गौतमले त्यो संघमा आठ बर्षबिताए । संघमा उनको आचरण र ब्यवहार सबैका लागि अत्यन्तै उदाहरणीय, अनुकरणीय र प्रिय बनेको थियो ।
गौतम बुद्ध २४ बर्षपुगेका बखत शाक्य गणराज्य र छिमेकी कौलीय गणराज्यबीच सीमा नदीको रुपमा रहेको रोहिणी नदीको पानी सिञ्चाइको निम्ति पहिला कसले र कति पानी उपयोग गर्ने सन्दर्भमा निक्कै ठूलो तनाव उत्पन्न भयो । यस्ता बिवादहरु बढ्दै गएर कतिपय समयमा लर्डाईकै रुप लिन्थे । अनि सम्वादद्वारा त्यस्ता बिवादहरु नमिले पछि युद्धद्वारा नै यस प्रकारका समस्याको हल गर्ने त्यतिबेला पनि प्रचलन थियो । त्यसैले शाक्य गणराज्यका सेनापतिले कोलीय गणतन्त्रका बिरुद्ध युद्धको प्रस्ताव राखे । तर सिद्धार्थ गौतम यो प्रस्तावको बिरुद्ध थिए । उनले युद्ध कुनै पनि समस्याको समाधान होइन भन्ने कुरामा बिश्वास राख्दथे र त्यसैमा दृढ थिए । उनले दुबै तर्फका मानिसहरु राखेर एउटा समिति बनाउने र त्यसले एक नेता चुनेर समस्या समाधान गरिनु पर्ने प्रस्ताव राखेका थिए । तर युद्धकै पक्षमा नै ठूलो बहुमतले प्रस्ताव पारित भयो । त्यस स्थितिमा सिर्द्धार्थ गौतमका सामुमा केवल तीनवटा मात्र बिकल्प देखापरे – सेनामा भरना भएर युद्धमा भागलिने कि, आफ्ना परिवारका मानिसहरुको सामाजिक बहिष्कार तथा उनीरुको खेत जफत हुने कुरामा सहमत हुने कि फासीमा चढ्न या देश निकाला स्वीकार गरेर हिड्न तयार हुने ? वास्तवमा यो गम्भीर र कठिन प्रश्न र बिकल्प थियो । बुद्धले सोचबिचार गरिकन तेश्रो बिकल्प चुने र परिब्राजक (घुमन्ते सन्त) बनेर देश छोड्न तयार भए । यसरी शान्तिको खोजीमा युद्धको बिरुद्ध उनले दरबारको सुखशयलको त्याग गरेका थिए । हुन पनि उनी दूधमुखे छोरो र प्रिय पत्नी तथा दरबारको सुख शयलको जीवनलाई पनि चटक्कै छोडेर हिड्न तयार भएका थिए र हिडे ।
यस प्रकार कठिन निर्णय र अठोट लिएर राजकुमार सिध्दर्थ गौतम अब भिक्षु बनेर समाज चाहार्दै र जीवन र जगतको यथार्थ वास्तबिक कुरा बुझदै हिड्न थाले । उनले योग साधना पनि सिके । बिभिन्न किसिमका तपस्याको पनि प्रयोग गरे । अनि यसरी सबै कुरा गर्दै जाँदा उनले कुनै पनि प्राप्तिका लागि अतिबाद काम नलाग्ने र मध्यम मार्ग अपनाउनुपर्ने निष्कर्शमा पुगे । यथार्थ सत्यको बोध गर्न हिडेका गौतम बुद्धले वास्तवमा जुन महाज्ञान प्राप्त गरे त्यो नै अष्ठ मार्ग र पञ्चशीलको रुपमा आज बिख्यात छ । उनले १४ बर्षको ज्ञानको खोजीपछि ४० बर्षको उमेरमा आफुले पाएको ज्ञानलाई सँस्कृत भाषाको साटो स्थानीय सरल पाली भाषामा प्रचार प्रसार गर्न थाले । त्यसको सोझो असर समाजमा पनि पर्न थाल्यो र त्यसको लोकप्रियता बढ्दै जान थाल्यो । उनको अनुभव र ज्ञान प्रचार गर्ने क्रममा र्सबप्रथम उनले सारनाथ(जसलाई त्यतिबेला काशीको मृगदाव भनिन्थ्यो) पुगे र पहिलो प्रचार त्यहीबाट आरम्भ गरे । यसरी आफ्नो ज्ञानको प्रचार गर्दै गर्दै ८० बर्षको उमेरमा उनको महापरिनिर्वाण (देहाबसान) बुद्ध जन्मेकै दिन भयो ।
बुद्धको ज्ञानको सार अर्थात् मूल उपदेश ’अप्प दीपो भव’ अर्थात ’आफै प्रकाश बन’ भन्ने नै हो । बुद्धका अनुसार वास्तवमा धर्म भनेको ज्ञान प्राप्ति, समानता प्राप्ति र मित्रता प्राप्ति हो । यसका लागि सम्यक ज्ञान, सम्यक बिचार, सम्यक दृष्टि, सम्यक आचरण, सम्यक कार्य आदि बताइएका छन् । उनले दुःख छ, दुःखको कारण छ र त्यसको निवारण पनि छ भन्ने कुराको जुन ज्ञान दिएका छन् त्यसैका लागि अष्टांगिक मार्ग प्रस्तुत गरेका छन् । उनको पञ्चशीलको सिद्धान्त त आज बिश्वका देशहरुका बीच सह–सम्बन्ध कायम गर्ने एउटा महत्वपूर्ण तत्व नै बनेको छ ।बुद्ध अन्धबिश्वास बिरोधी, काटमार बिरोधी र पशुबली बिरोधी थिए । बुद्धको ज्ञानमा जातपात, छुवाछुत र उचनिचको कुनै भेदभाव थिएन र छैन । बुद्धको यो महाज्ञानलाई उनका पिता राजा शुद्धोधन र पुत्र राहुलले पनि ग्रहण गरेका थिए । यद्यपि अरम्भमा बुद्ध माहिलाहरुलाई बुद्ध संघमा लिने कुरामा सहमत थिएनन् । तर पछिबाट यो कुरा पनि उनले स्वीकारे । यद्यपि उनलाई यो कुरा (महिलालई संघमा लिने कुरा ) अत्यसम्म पनि त्यत्ति रुचीकर लागिरहेको थिएन भनिन्छ।
यस प्रकार नेपालमा जन्मेका सिद्धार्थ गौतमबुद्धले बिश्व कल्याण, मानबता र मानबीयताका लागि जुन ज्ञानको अमोघ योगदान दिए त्यसै कारणले उनलाई आज शान्तिको अग्रदूत र एशियाका प्रकाश(लाईट अफ एशिया)को रुपमा सारा बिश्वभरी जानिन्छ र उच्च सम्मान गरिन्छ । तर बुद्धका सही उपदेशहरुलाई जसरी संकीर्णरुपमा खाश सम्प्रदाय बिशेषको धर्म जस्तो बनाएर प्रयुक्त गरिदै र सीमित तुल्याउन खोजिदैछ त्यसले बुद्धको बिश्व मानबतालाई नेपालका महान सपुत गौतम बुद्धले दिएको योगदानलाई निक्कै सीमित तुल्याउने काम गरेको छ भने अर्कोतिर बुद्ध जस्ता सर्बोत्कृष्ट मानबलाई भगवान बनाएर पूजा अर्चना गर्ने गतिबिधिले पनि समाजमा र सँस्कृतिमा उत्पन्न अन्धविश्वास बिरुद्धको उनको महत्वपूर्ण र दूरदर्शी भावनालाई पनि यसरी कुण्ठित पर्ने र उपेक्षा गर्ने काम भइरहेका छ । यो बुद्धको फराकिलो ज्ञान र समाज परिवर्तको दृष्टिका लागि अमान्य जहा पनि र जहिले पनि अमान्य र अस्वीकार्य कुरा हो । के कुरा चाँही उदेकलाग्दो छ भने हामीले अझै पनि बुद्ध नेपालकै महाज्ञानी सपूत हुन भन्ने यथार्थलाई स्थापित गर्न सकिरहेका छैनौ ।


