काठमाडौं । इलाम-२ (प्रतिनिधिसभा) र बझाङ प्रदेशसभा निर्वाचन(१)मा उपचुनावअन्तर्गत मतदान जारी रहँदा इलामका एक उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाे निर्वाचन आयोगले जनाएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि निर्वाचन आयोगले आवश्यक कारबाही अघि बढाएको जनाएको छ।
रास्वपाका उम्मेदवार लिम्बूले मत दिन जाँदा पार्टीको संकेत भएको ब्याच लगाएका थिए। उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन्। मत दिएपछि उनीविरुद्द उजुरीसमेत परिसकेको छ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको देश सञ्चारसँग बताए।
‘हामीले आवश्यक कारबाहीको लागि निर्देशन दिइसकेका छौं। लोगो खोस्न र स्पष्टीकरण सोध्न भनेका छौं। कानुनविपरीत जाने छुट कसैलाई पनि छैन, ‘ थपलियाले भने, ‘आज सबै मतदाता समान हुन्छन्, कुनै पनि संकेत गरिने लुगा कपडा, टोपी वा संकेत झल्काउने लोगो लगाउन पाइँदैन। इलाममा पनि उम्मेदवार वा मतदाता भोट हाल्न जाँदा सबै समान हैसियतका हुन्छन्।’
बझाङ र इलाममा मतदान जारी छ। थपलियाका अनुसार बझाङमा १३ प्रतिशत र इलाममा २१ प्रतिशत मतदान भएको छ। इलाममा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम- २ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्। इलाममा एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रास्वपाका लिम्बूबीच मुख्य प्रतिस्पर्धा छन्।


