नयाँ वर्ष २०८१ को सुरुवात संगै जनधारणा साप्ताहिक पनि ३३औं वर्षमा उकालो लागेको छ । हामी देशभक्तिपूर्ण आवाजलाई बिशेष महत्व दिंदै, जनताका नैसर्गिक अधिकारबारे निरन्तर आवाज उठाउँदै र भ्रष्टहरुको विरुद्धमा खबरदारी गर्दै यस साप्ताहिकमार्फत सशक्त रुपमा प्रस्तुत हुँदै आएका छौं । तीन दशकको हाम्रो खबरदारीका बाबजुद पनि भ्रष्टाचार न्यून भएको छैन, राष्ट्रघात र जनविरोधी काम नै सरकारमा पुग्ने नेताहरुको आदर्श जस्तै बनेको छ । हामी हाम्रो प्रतिबद्धता र खबरदारीलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दैछौं ।
अहिले देशमा वामपन्थी दलहरुबीचको सहकार्यमा सरकार सञ्चालनमा छ । जनधारणाले लामो समयदेखि वामपन्थी दलहरुबीच एकता, कार्यगत सहकार्यको विषयमा जोड दिँदै आएको थियो । नेपालमा वामपन्थी दलहरु सीमित नेताहरुको स्वार्थका कारण विभाजित र छिन्नभिन्न भएर अस्तित्वमा छन् । जसका कारण कम्युनिष्ट आन्दोलन हालसम्म पनि अधुरो रहेको हाम्रो ठम्याइ रहेको छ । त्यसको साटो वामपन्थी दलहरु एक हुनसकेमा त्यो कम्युनिष्ट आन्दोलन र स्वयं मुलुकका लागि पनि हितकर हुने थियो भन्ने हाम्रो ठम्याइ हो । साथै, मुलुकमा दक्षिणपन्थ र वामपन्थीबीचको प्रतिस्पर्धा हुने र ससाना दलका कारण हुने राजनीतिक अस्थिरता पनि हट्ने थियो । अहिले वामपन्थी दलहरुबीच सत्ता समीकरण त बनेको छ, तर उनीहरुबीच एकजुट अघि बढ्ने समझदारी बनेको छैन । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच जुँगाको लडाइँका कारण वामपन्थी दलहरुको सहकार्य पनि जोखिममा पर्ने हो कि भन्ने आशंका देखिएको छ । यस्तो जोखिम आउन नदिन र मुलुकका हितका लागि पनि यी दलहरुले बलियो सहकार्यको आवश्यकता देखिन्छ । अर्कोतर्फ मुलुकको आर्थिक सबलता पनि अहिले ठूलो चुनौतीको विषय बनेको छ । केही वर्षयता नेपालको अर्थतन्त्र संकटग्रस्त अवस्थामा छ ।
नेपालको अर्थतन्त्र अहिले रेमिट्यान्स र राजस्व संकलनबाट मात्र सञ्चालित छ । हरेक वस्तु आयात गर्नुपर्ने कारणले मुलुकको अर्थतन्त्र कुनै पनि बेला जोखिममा पर्ने सम्भावना छ । तर, सरकारले अर्थतन्त्रलाई सबल पार्ने उपायहरु कृषि उत्पादन वृद्धि, कलकारखाना स्थापना, विकासका पूर्वाधार निर्माणमा तीव्रता, युवालाई देशमा नै केही गर्न वातावरण सृजना गर्ने जस्ता कामहरु गर्न सकेको छैन । बरु वैदेशिक ऋण लिनका लागि सरकार प्रयास गरिरहेको छ । अहिले नै नेपालले विदेशी ऋणबापत वर्षेनि ठूलो रकम सावाँब्याजको रुपमा तिर्दै आएको छ । विकास निर्माणका लागि भन्दा बढी रकम अहिले सरकारले ऋण तिर्नका लागि छुट्याउनुपर्ने अवस्था छ । यो तीतो सत्यलाई मनन गरेर पनि राष्ट्रिय जागरणको क्षेत्रमा सरकारले काम गर्नुपर्ने देखिन्छ । यसका लागि सर्वप्रथम युवा पलायन रोक्ने, अनावश्यक खर्च कटौती गर्ने, कृषि, श्रमिकहरुको हितमा काम गर्ने, पर्यटक भित्र्याउने र विदेशी मुद्रा आर्जन काम हुन जरुरी छ । यस्तै, सरकारले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण तथा संलग्नलाई कारबाही, सरकारी निकायको काम चुस्तदुरुस्त र छिटो बनाउन आवश्यक छ । अनि मात्र देशले विकासको लय समात्नेछ, आगे सबैलाई चेतना भया ! नयाँवर्ष २०८१ ले सबैलाई यही चेतना जागरण गराओस्, शुभकामना छ ! जनधारणा साप्ताहिकबाट