काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्धको विरोध कायमै राख्ने निर्णय गरेको छ। मंगलवार पार्टी सभापति शेर बहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन तथा पदाधिकारी बैठकले गृहमन्त्री लामिछाने विरुद्ध संघीय संसदमा विरोध कायमै राख्ने निर्णय गरेको बैठकपछि एक नेताले जनाए
ती नेताका अनुसार कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्रीलाई जवाफ नै दिन नदिने रणनीति बनाएको छ। प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको विषयमा मन्त्रालयगत जवाफ दिने क्रम सुरु भएको छ। लामिछानेले पनि आफ्नो मन्त्रालयसँग जोडिएका प्रश्नहरुको जवाफ दिने तयारी गरेका छन्।
मंगलबारको संसद बैठकपछि लामिछानेले आफूले जवाफ दिन पाउनुपर्ने जनाएका थिए।
तर सहकारी अनियमिततामा उनको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेस गृहमन्त्रीको जवाफ सुन्न तयार नभएकोले संसदमा बोल्नै नदिने र गृहमन्त्रीले बोलेपनि नसुन्ने रणनीति बनाएको हो।
समिति गठन नभएसम्म गृहमन्त्री लामिछानेको जवाफ नसुन्ने कांग्रेसले जनाएको छ। गत चैत २ गतेको संसद बैठकमा लामिछानेलाई सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्न अनुमति दिँदा पनि कांग्रेसी सांसदहरुले वेल घेराउ गरेर विरोध गरेका थिए।